आर्यसले श्रीलंकामा एटीएफ यु-१२ टीम टेनिस प्रतियोगिता खेल्ने


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०८२ मा प्रकाशित




जेष्ठ ७,पोखरा

पोखरेली उदीयमान खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने एटीएफ यु–१२ टीम टेनिस प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् । श्रीलंका टेनिस संघको आयोजनामा यहि जेष्ठ १२ देखि १६ गतेसम्म कोलम्बोमा हुने उक्त प्रतियोगितामा नेपाल सहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले भाग लिनेछन् ।

यसैविच,कास्की जिल्ला टेनिस संघले बुधबार एक कार्यक्रमको आयोजना गरि आर्यसलाई विदाई गरेको छ । सो अवसरमा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले आर्यसले नेपालमा भएका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नों उमेर समुहमा उत्कृष्टता हाँसिल गर्दै आएको बताउनुभयो । उहाँले श्रीलंकामा पनि आर्यसले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्नुभयो । संघका प्रथम उपाध्यक्ष नविन चालिसेले आर्यस पोखराबाट उदाएका र पोखरेलीले गौरब गर्न लायक खेलाडी भएको बताउँदै श्रीलंकामा पनि राष्ट्रको शान उँचो पार्न शुभ कामना व्यक्त गरे ।

सो अवसरमा खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने उक्त प्रतियोगितामा आफ्नों अनुभवको सक्दो प्रयोग गर्ने बताउनुभयो । ‘खेलमा हार वा जित जे पनि हुन सक्छ, तर म मेरो सम्पूर्ण प्रयास लगाउने छु’–उहाँले भन्नुभयो । विदाई समारोहमा कास्की टेनिस संघका पदाधिकारी तथा खेलाडीहरुले खेलाडी पौडेललाई खादा, माला ओढाएर नेपाली राष्ट्रिय झण्डा प्रदान गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।