सन्देश श्रेष्ठ
पोखरा, जेठ ११
गण्डकी प्रदेश टेनिस संघले खेलाडी उत्पादनका लागि ‘ग्रो टेनिस’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर खेलाडी उत्पादनका लागि दीर्घकालीन योजना अन्तर्गत ‘ग्रो टेनिस’ कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । सो सञ्चालनका लागि एक महिनापछि ‘टेनिस ट्यालेन्ट हन्ट’ कार्यक्रम गर्न लागेको संघका अध्यक्ष बिनोद कायस्थले जानकारी दिए ।
संघले राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य राखेर ‘ग्रो टेनिस’ कार्यक्रम सञ्चालन गर्न लागेको अध्यक्ष कायस्थको भनाई छ । दीर्घकालीन र महत्वकांक्षी योजना अन्तर्गत ८ वर्षमा १० जना राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको उनले बताए । जसका लागि असारमा ‘टेनिस ट्यालेन्ट हन्ट’ गरिने उनको भनाई छ । जसका लागि विपन्न तथा गरीब, दुःखी परिवारका ८ देखि १२ वर्षका बालबालिकाहरु मध्येबाट छनौट गरेर पहिलो चरणमा ४० जना छनौट गरिने महासचिव नवीन चालीसेले बताए । छनौट भएकाहरुलाई ६ महिना प्रशिक्षण गराएर उत्कृष्ट ३०, त्यसपछि पुनः प्रशिक्षण गराएर उत्कृष्ट १० जना छनौट गर्ने तयारी गरिएको उनको भनाई छ । अन्तिम छनौटमा ८ जना बालक र २ जना बालिका छनौट गरिने उनले बताए ।
छनौट भएका १० जनालाई १८ वर्षको भईञ्जेल टेनिस प्रशिक्षण दिईने अध्यक्ष कायस्थले जानकारी दिए । उत्कृष्ट १० छनौट हुनुभन्दा पहिलेसम्म आ–आफ्नो विद्यालयमै अध्ययन गर्नेगरी प्रशिक्षण दिईने उनले प्रष्ट्याए । तर त्यसपछि भने पोखराको सर्वोत्कृष्ट मध्येको एक विद्यालयमा रोजेर अध्ययन गर्ने व्यवस्थादेखि टेनिस खेल्दा लाग्ने सबै खर्चहरु संघले बेहोर्ने उनले बताए । ‘छनौट भएका बालबालिकाका लागि टेनिस खेल्दाई चाहिने बल, ¥याकेट, जर्सी, उनीहरुलाई चाहिने दैनिक डाईट र यातायात खर्चपनि हामी नै बेहोर्छौं ।’
संघले त्यसरी प्रशिक्षण गराउँदा एउटा खेलाडी बराबर करीब १५/१६ लाख खर्च हुने अनुमान गरेको छ । सो खर्च विभिन्न दाताहरुबाट व्यवस्थापन गरिने अध्यक्ष कायस्थले बताए । हामीले दाताहरु खोजिसकेका छौं,उनले भने,‘टेनिसका प्रशिक्षकदेखि अग्रज खेलाडीहरुले नै स्पोन्सर्ड गर्नेछन् । त्यसका लागि प्रतिबद्धता आइसकेको छ ।’
‘ग्रो टेनिस’बाट उत्पादित खेलाडीहरुले कमाउन शुरु गरेपछि भने अहिले उनीहरुका लागि भएको लगानी कालान्तरमा फिर्ता गर्नुपर्ने संघले जनाएको छ । कसरी पे ब्याक गराउने भन्नेबारे विभिन्न मोडलमा छलफल चलिरहेको छ,अध्यक्ष कायस्थले भने,‘कमाईको निश्चित प्रतिशत राख्ने कि ?, निश्चित समय प्रशिक्षणमा लगाउने कि ? वा अन्य मोडल अप्नाउने भन्नेबारेमा छलफल चलिरहेको छ तर टुंगिसकेको छैन ।’
‘ग्रो टेनिस’ पोखरा चिनाउने अभियानसमेत भएको अध्यक्ष कायस्थले बताए । पोखरा अहिले प्याराग्लाईडिङले चिनिन्छ,उनले भने,‘हामी यो अभियानमार्फत खेलाडी उत्पादन गरेर पोखरा टेनिसबाट चिनाउने बनाउन चाहन्छौं ।’ टेनिसमा पोखराको उपस्थिति गर्विलो रहेकोसमेत उनले दाबी गरे । भने,‘पनेदरनान टेनिस र खेलाडीको भविष्य राम्रो छ ।’
कार्यक्रममा गण्डकी विश्वविद्यालयका प्राध्यापक सोनाम लामाले ‘ग्रो टेनिस’ कार्यक्रम नेपाली खेलकुदलाई व्यवसायिक बनाउन अग्रगामी कदम हुने विश्वास व्यक्त गरे । ‘खेलकुदमा भविष्य छ, व्यवहारमा उतार्न सक्नुपर्छ,’ उनले भने–‘यो कार्यक्रम नेपाली खेल क्षेत्रमा महत्वपूर्ण मोडल बन्न सक्छ ।’
प्रदेश टेनिस संघका उपाध्यक्ष लोकबहादुर गुरुङले जतिसक्दो प्रचार गरेर साँच्चिकै गरीब तथा विपन्न बालबालिकाको खोजी गरिने भन्दै त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेको बताए ।
प्राविधिक समितिका सह–संयोजक एवम् पूर्व राष्ट्रिय खेलाडी कुमार अधिकारीले पोखरा खेलाडी उत्पादनका लागि अग्रणी बनाउने अभियान भएकाले यसलाई सफल बनाउन आफूहरु लाग्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







