पोखरा, जेठ २१
गण्डकीमा आगामी वर्ष लगानी सम्मेलन हुने भएको छ । यसअघि पटक पटक हुने भनेर स्थगित हुँदै आएको लगानी सम्मेलन यस वर्ष गरिने बुधबार गण्डकी प्रदेश सरकारले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लगानी सम्मेलन आगामी वर्ष गर्ने बताए । तर त्यसको ठ्याक्कै मिति भने तोकिएको छैन । त्यस्तै, नीति तथा कार्यक्रममा पूर्वाधार संरचना तथा सेवा क्षेत्रमा लगानी भित्राउनका लागि प्रोत्साहित गर्न सार्वजनिक–निजी साझेदारीका लागि आवश्यक कानुनी व्यवस्था गर्नेपनि प्रदेश प्रमुख भट्टले उल्लेख गरे ।
नीति तथा कार्यक्रममा गण्डकी सरकारले स्थगन गरेको राईड सेयरिङलाई नियमन गर्ने विषय प्राथमिकताका साथ राखिएको छ । व्यवसायीको आन्दोलनपश्चात संघ सरकारको आग्रहमा एक महिनाका लागि राईड सेयरिङ सम्बन्धि नियमावली गण्डकी सरकारले स्थगन गरेपनि नीति तथा कार्यक्रममा राखेर त्यसबाट पछि नहट्ने स्पष्ट पारेको छ । नीति तथा कार्यक्रम भनिएको छ,‘राइड सेयरिङलाई प्रभावकारी नियमन र व्यवस्थापन गरिने छ ।’
गण्डकी सरकारले प्रदेशबाटै लाईसेन्स छपाइ र वितरण सुरूवात गर्ने उल्लेख गरेको छ । हालसम्म संघ सरकार मातहत हुँदै आएको सो काम संघ सरकारको बजेटमा प्रदेशलाई दिने उल्लेख भएलगत्तै गण्डकी सरकारले त्यसको स्वामित्व लिदै प्रदेशबाटै लाईसेन्स छपाइ र वितरण गर्ने नीति तथा कार्यक्रममा राखेको हो । संघ सरकारसँगको लाईसेन्स छपाइ र वितरण कार्य गरिनेछ,नीति तथा कार्यक्रममा भनिएको छ,‘नेपाल सरकारको समन्वयमा सवारी चालक अनुमति पत्रको छपाइ तथा वितरण कार्य प्रदेशबाटै सुरूवात गरिनेछ ।’ प्रदेश प्रमुख भट्टले सवारी साधन करलाई अनलाइनमार्फत भुक्तानी गर्ने व्यवस्था गरिने भन्दै त्यसका लागि आवश्यक पूर्वाधार तयार पारिने बताए ।
गण्डकी सरकारले प्रदेश मातहतका अस्पतालमा जन्मजात रोगको पहिचान गर्न शिशुको स्क्रिनिङ गर्ने व्यवस्था मिलाउने नीति लिएको छ । त्यसका लागि धौलागिरी, मध्यविन्दु, दमौली, स्याङ्जा र बुर्तिबाङ अस्पतालमा इमर्जेन्सी ट्रमा केयर युनिटको स्थापना र सुदृढीकरण गर्ने सरकारले जनाएको छ । पोखराको मातृशिशु मितेरी प्रादेशिक अस्पतालमा निःसन्तान उपचार केन्द्र र मध्यविन्दु प्रादेशिक अस्पतालमा बौद्धिक एवम् अटिजमसम्बन्धी अपांगता भएका बालबालिकाको उपचार गर्न अपांगता उपचार केन्द्र स्थापना गरिने प्रदेश प्रमुख भट्टले उल्लेख गरे ।
गण्डकी सरकारले प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा एभी फिस्टुला सेवा निःशुल्क प्रदान गर्नुका साथै निःशुल्क डायलसिस सेवालाई निरन्तरता दिने नीति लिएको छ ।
त्यस्तै, पर्यटनको राजधानी पोखराको ब्राण्डिङका लागि ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔं’ तथा ‘राउण्ड फेवा, भ्यू फेवा कार्यक्रम’लाई प्राथमिकताका साथ सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी, गण्डकी प्रदेशको पर्यटन विकास र प्रवद्र्धन गर्न पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिमका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । पर्यटन प्रवद्र्धनका लागि पोखराको रुपा तालमा सीसाको पुल बनाउन सम्भाव्यता अध्ययन गरिनेपनि उल्लेख छ ।
गण्डकी सरकारले आर्थिक विकास तथा शासन प्रणालीको प्रभावकारिता बढाउन मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोसिप कार्यक्रम सुरुवात गर्ने भएको छ । प्रतिभाशाली युवाको नवीन सोच, ज्ञान र सीपको प्रयोगबाट नीति परिणाम सुनिश्चित गरी सरकारको सुशासन, पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्ने सरकारको उद्देश्य रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारले गोरखा दरबार, मनकामना मन्दिर, लिगलिगकोट दरबार, क्होंलासोंथर, लमजुङ दरबार, विन्ध्यवासिनी मन्दिर, लोमान्थाङ दरबार, मुक्तिनाथ मन्दिर, बागलुङ कालिका, पुर्कोट कालिकालगायतका सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने जनाएको छ । गण्डकी प्रदेशलाई आरोग्य पर्यटन हबको रुपमा विकास गर्ने सरकारले नीति लिएको छ ।
गण्डकी सरकारले सहकारी क्षेत्रमा देखिएका आर्थिक अपचलन नियन्त्रण गरी नियमन प्रणालीलाई प्रभावकारी बनाउने जनाएको छ । उसले बचतकर्ताको रकम सुनिश्चित गर्ने, उद्देश्य मिल्ने सहकारीलाई समायोजन हुन प्रोत्साहित गर्ने तथा निष्क्रिय सहकारीलाई खारेज गर्ने उल्लेख छ ।
गण्डकी सरकारले मुस्ताङको कोरला, गोरखाको रुइला र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को त्रिवेणी नाकासम्म पुग्ने सडकको विस्तार तथा स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ऐतिहासिक कार्तिक…







