
पोखरा, असार ५
बरपिपल रिसोर्टले आफ्ना कर्मचारीहरूको व्यक्तित्व विकास र मनोबल अभिवृद्धिका लागि प्रेरणादायी “मोटिभेसनल स्पिच कार्यक्रम” आयोजना गरेको छ। कार्यक्रमका प्रमुख वक्ता मनोक्रान्ति प्रणेता डा. योगी बिकासानन्दले सकारात्मक सोच, अनुशासित जीवनशैली र समय व्यवस्थापनका महत्वपूर्ण पक्षहरूमा जीवन्त प्रस्तुति दिनु भएको थियो।
उहाँले जीवनमा अनुशासन र समयको उचित सदुपयोग नै सफलताको मुख्य आधार हुने स्पष्ट पार्दै भारतीय अभिनेता अक्षय कुमार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको अनुशासित जीवनशैली र समय व्यवस्थापनका अभ्यासहरू उदाहरणका रूपमा प्रस्तुत गर्नु भयो।
डा. बिकासानन्दले समयमै सुत्ने र समयमै उठ्ने, दैनिक कम्तिमा ६ देखि ९ घण्टा पर्याप्त निन्द्रा लिनु पर्ने र आफैँलाई माया गर्नु पर्ने ‘लभ योरसेल्फ’ को अवधारणालाई जीवनको पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नु भयो। उहाँले ‘Do what you love and love what you do’ भन्ने मूल मन्त्रले व्यक्तिको आत्म–सन्तुष्टि र सफलतामा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै स्टिभ जब्स र भारतीय उद्योगपति धिरुभाइ अम्बानीको जीवनका प्रेरक पक्षहरू प्रस्तुत गर्नु भयो।
डा. बिकासानन्दले संगतको प्रभावलाई विशेष रूपमा जोड दिंदै सकारात्मक व्यक्तित्व र सकारात्मक वातावरणमै सफलता अंकुरण हुने विचार व्यक्त गर्नु भयो। उहाँले सपना सधैं ठूलो देख्नुपर्ने र त्यसलाई साकार पार्नका लागि अनुशासन, निरन्तरता र परिश्रम अपरिहार्य रहेको स्पष्ट पार्दै विश्व प्रसिद्ध फाइभ स्टार ओबराय होटलका मालिक रायबहादुर मोहन सिंह ओबरायको जीवनलाई उदाहरण स्वरूप प्रस्तुत गर्नु भयो।
कार्यक्रमको अध्यक्ष बरपिपल रिसोर्टका अध्यक्ष तथा प्रबन्ध निर्देशक जितु गुरुङले कर्मचारीहरूलाई यस्तो अवसरलाई जीवनमा सकारात्मक रूपान्तरण ल्याउने माध्यमको रूपमा लिई कार्यस्थलमा कार्यकुशलता र अनुशासन बढाउन आह्वान गर्नु भयो। बरपिपल रिसोर्टका कर्मचारीहरूको व्यक्तिगत तथा व्यावसायिक विकासमा सहयोग पुर्याउने र उनीहरूमा सकारात्मक ऊर्जा तथा आत्म–प्रेरणा भरिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा बिशेष अतिथि गण्डकी प्रदेश सभा सभामुख कृष्णप्रसाद धितालले यस्ता कार्यक्रमहरूले व्यक्तिको आन्तरिक क्षमतामा सुधार ल्याउनुका साथै संस्थागत सफलतामा दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भयो। सभामुख धितालले अहिले जता पनि नकारात्मकता र अराजकता बढिरहेको बताउदै समाज र ब्यक्तिलाई रुपान्तरणकालागि यस्ता कार्यक्रम उपयोगि हुने बिश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले यस प्रकारको प्रशिक्षणले आफूहरूमा नयाँ ऊर्जा, सकारात्मक सोच र समय व्यवस्थापनको चेतना जागृत गराएको अनुभव व्यक्त गरेका थिए।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।