अवैध रुपमा पोखरा भित्रिएको १ करोड ३० लाख बराबरको सुनसहित दुई जना पक्राउ


     एभरेस्ट आवाज    
     असार ७ गते २०८२ मा प्रकाशित




पोखरा, असार ७

भारतबाट अवैध रुपमा ठूलो मात्रामा पोखरा भित्रिएको सुनसहित दुई जना पक्राउ परेका छन् । पोखरामा बिक्री गर्ने उद्देश्यले भारतबाट अवैध रुपमा ठूलो मात्रामा सुन ल्याएको आरोपमा कास्की प्रहरीले एक किलो सुनसहित कुलदीप सिंह र रामबहादुर विकलाई पक्राउ गरेको हो । पक्राउ परेका ४९ वर्षिय सिंह भारतको अमृतसर निवासी हुन् भने उनी मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ । विक भने उनका सहयोगी मात्र रहेको कास्की प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । विक रुपन्देहीका हुन् ।

उनीहरुको साथबाट एक किलो सुनका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ । कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले सुनको ढिक्का, हिरा जडित औंठी, मंगलसुत्र, सिक्रीलगायतका गरेर ८२ तोला १६ लाल सुन बरामद गरिएको जानकारी दिए । सो सुन एक करोड ३० लाख ४१ हजार बराबरको रहेको उनले बताए ।

भारतीय नागरिक सिंहले फेसबुकमार्फत विकसँग सम्बन्ध बढाएको र उनको सहयोगमा सुन र हिराका गरगहना बेच्न उनी पोखरा आएको बयानमा खुलेको एसपी ओलियाले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा विकले आफूले केहि रकम पाउने आशाले सहयोग गरेको स्वीकार गरिसकेको प्रहरी श्रोतको दाबी छ ।

अवैध रुपमा भारतबाट ल्याइएका सुनको बिल नभएका कारण सुनचाँदी व्यवसायीले खरिद गर्न नमानेपछि प्रहरीमा सूचना पुगेको श्रोतले बताएको छ । त्यसपछि प्रहरीले निगरानी बढाउन थालेको थियो । पोखरामा गरगहना बिक्री गर्न नसकेपछि सिंह सिद्दार्थ राजमार्गहुँदै बुटवलतर्फ जाँदै गर्दा पोखरा–२२ पुम्दीभुम्दीमा गाडी खानतलासी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेको दुबैलाई थप अनुसन्धानार्थ गरगहनासहित राजश्व अनुसन्धान कार्यालय, काठमाण्डौं पठाइने ओलियाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।