पछिल्लो साढे ११ महिनामा वैदेशिक रोजगारीमा गएका गण्डकीका १५५ जनाको मृत्यू


     एभरेस्ट आवाज    
     असार २१ गते २०८२ मा प्रकाशित




पोखरा, असार २१

पछिल्लो साढे ११ महिनामा गण्डकी प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १ सय ५५ जनाको मृत्यू भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा वैदेशिक रोजगारीका लागि गण्डकी प्रदेशबाट विभिन्न देश गएका उनीहरुको मृत्यू भएको सुरक्षित आप्रवासनका लागि सामी कार्यक्रमले पोखरामा एक अन्र्तक्रियात्मक छलफल गरी जानकारी दिएको हो ।

सामीका अनुसार वैदेशिक रोजगारीमा गएर मृत्यू हुनेको संख्या स्याङ्जा र नवलपुरको समान २७/२७ जना रहेको छ । तर स्याङ्जाका मृतक सबै पुरुष हुन् भने नवलपुरका २६ पुरुष र १ महिला छन् । त्यस्तै, पछिल्लो साढे ११ महिनामा कास्कीका २२ जना, बागलुङका एक महिलासहित १७ जना, तनहुँका २० जना, गोरखाका १५ जना, लमजुङका ४ महिलासहित १४ जना, पर्वतका ७ जना र म्याग्दीका ६ जना रहेको सामीले जनाएको छ ।

सामी कार्यक्रमले कास्कीमा पछिल्लो साढे ११ महिनामा वैदेशिक रोजगार सम्बन्धि ७२ वटा समस्या तथा मुद्दाको समाधान गरेको जनाएको छ । उक्त अवधीमा कुल २२४ वटा समस्या देखा परेकामा १५२ वटा समाधानको प्रक्रियामा रहेको पोखरा महानगरपालिका सामी कार्यक्रम अधिकृत आदिमध्वज श्रेष्ठले जानकारी दिए । सो अवधीमा पीडितलाई ३ करोड ८८ लाख ५९ हजार ८५ रुपैयाँ आर्थिक सहयोगसमेत उपलब्ध गराइएको उनले बताए । उनका अनुसार पोखरा महानगरपालिकामा १११ वटा वैदेशिक रोजगार सम्बन्धि समस्या देखा परेकोमा ३५ वटा समाधान भएको तथा ७६ वटा प्रक्रियामा रहेका छन् ।

त्यस्तै, अन्नपूर्ण गाउँपालिकामा १४ उजुरी परेकोमा २ वटा समाधान भएको र १२ वटा प्रक्रियामा रहेको, माछापुच्छ«े गाउँपालिकामा १७ वटा समस्या परेकोमा ५ वटा समाधान भएको र १२ वटा प्रक्रियामा रहेको, मादी गाउँपालिकामा १० वटा समस्या उत्पन्न भएकोमा ६ वटा समाधान भएको र ४ वटा प्रक्रियामा रहेका छन् भने रुपा गाउँपालिकामा ९ वटा समस्या देखा परेकोमा ४ वटा समाधान भएको र ५ वटा प्रक्रियामा रहेको उनले बताए । यसैगरी, कास्कीमा अस्थायी बसोबास गर्नेहरुको ६३ वटा समस्या देखापरेकोमा २० वटा समाधान भएको र ४३ वटा प्रक्रियामा रहेको उनले जानकारी दिए ।

‘स्वदेशमै रोजगार गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने नारासहित सचेतना अभिवृद्दिमा लागेको सामी कार्यक्रमले उक्त समयावधी सम्ममा ७ हजार ९ सय ७२ जना सम्भावित आप्रवासी, ४३ जना रिटर्नी, ४ हजार ५ सय ८६ जना विद्यार्थी, घुम्न, परिवार भेट्न विदेश जान लागेका गरेर कुल १२ हजार ६ सय १ जनालाई परामर्श दिएको अधिकृत श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखरामा ९ हजार १ जना, अन्नपूर्ण गाउँपालिकामा ९२९ जना, माछापुच्छ«े गाउँपालिकामा ८३५ जना, मादी गाउँपालिकामा ८३५ जना नै, रुपा गाउँपालिकामा ५७९ जना र अन्य ४१३ जनालाई परामर्श दिइएको छ ।

सामीले कास्कीमा ३ हजार ३ सय १२ जनामा गहन अभिमुखीकरण गरेको छ । जस अनुसार पोखरामा ६४३ जना, अन्नपूर्ण गाउँपालिकामा ९८५ जना, माछापुच्छ«े गाउँपालिकामा ७८२ जना, मादी गाउँपालिकामा ७२० जना र रुपा गाउँपालिकामा ८२ जनालाई गहन अभिमुखीकरण गरेको जनाएको छ ।

यसैगरी, पोखरामा ११ जना, अन्नपूर्ण गाउँपालिकामा ६ जना, माछापुच्छ«े गाउँपालिकामा ३० जना, मादी गाउँपालिकामा ६८ जनालाई व्यक्तिगत रुपमा मनोसामाजिक परामर्श प्रदान गरेको उनले जानकारी दिए । त्यसबाहेक पोखरामा ५२ जना, अन्नपूर्ण गाउँपालिकामा ४० जना, माछापुच्छ«ेमा ४९ जना र मादी गाउँपालिकामा १८९ जनालाई सामुहिक मनोसामाजिक परामर्श दिइएकोपनि उनले उल्लेख गरे ।

त्यस्तै, सामीले कास्कीका १८९ जनालाई वित्तीय साक्षरता प्रदान गरेको जनाएको छ । उनका अनुसार पोखरा–१८ को भकुण्डे र वडा नम्बर–२४ को कास्कीकोट, अन्नपूर्ण गाउँपालिका–३ को तलेव, वडा नम्बर–४ को पाउँदुर, माछापुच्छ«े–१ को मिर्सा र वडा नम्बर–९ को घलेल, मादी–१ को सिक्लेस र वडा नम्बर–२ को ताङतिङमा वित्तीय साक्षरता तालिम प्रदान गरिएको श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।