पोखर, असार ३१
कास्कीका उत्कृष्ट चार कृषक पुरस्कृत भएका छन् । कृषि ज्ञान केन्द्र कास्कीले वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाईको अवसर पारेर आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट हुन सफल चार कृषकहरुलाई पुरस्कृत गरेको हो । कार्यक्रममा पोखरा महानगरपालिकाकी पिन शोभा गुरुङ, अन्नपूर्ण गाउँपालिकाका नरेन्द्रप्रसाद पौडेल, रूपा गाउँपालिकाका जोरेली मिया र माछापुच्छ्रे गाउँपालिकाका कृष्णप्रसाद दाहाललाई जनही दश/दश हजारसहित दोषल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको हो ।

पुरस्कृत कृषकहरुलाई जिल्ला समन्वय समिति (जिसस) कास्कीका प्रमुख लीलाधर पौडेल, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, प्रदेश कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव तिवारी, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देललगायतले पुरस्कृत गरेका थिए ।
पुरस्कार वितरण तथा वार्षिक समीक्षा कार्यक्रममा बोल्दै जिसस कास्कीका प्रमुख लीलाधर पौडेलले कृषिको आधुनिकीकरण र व्यावसायीकरण जरुरी रहेको बताए । त्यसको सकारात्मक प्रभावपनि देखिएको भन्दै अझ प्रभावकारी कार्यान्वयनमा उनले जोड दिए । उत्पादन बढेपनि बजारको समस्या देखिएको बताउँदै उनले भने,‘उत्पादन नीति र कार्यक्रमसँगै क्रय, विक्रय र विनिमयका क्रियाकलाप सहज बनाउनेतर्फ लाग्नुपर्छ ।’
रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले कृषि ज्ञान केन्द्रले पालिका स्तरको कार्यक्रम गरिरहेकोप्रति असन्तुष्टि जनाए । उनले बजेट र योजनामा ध्यान दिन सुझाव दिदै भने,‘प्रदेश सरकारले जति दियो त्यति हात थाप्ने र हस हजुर भन्ने होईन । आफ्नो हैसियत अनुसार योजना र बजेट माग्ने हिम्मत गर्नोस् ।’
कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले कार्यालयले ८५ प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको जानकारी दिए । उनले कास्की खाद्यान्नमा आत्मनिर्भर हुने दिशामा अगाडि बढिरहेको दाबी गर्दै भने,‘हालसम्म ८० हेक्टर क्षेत्रमा आलु खेती विस्तार गरिएको छ, यसलाई सबैभन्दा ठूलो आलु विस्तार कार्यक्रम मान्न सकिन्छ ।’ उनले फलामका भन्दा बाँसका टनेल सस्तो र बालीमैत्री देखिएकाले त्यसको प्रयोगमा जोड दिने गरिएको उल्लेख गरे । ‘यो सस्तोपनि छ र उत्पादनमुखीपनि छ’–उनले भने ।
कार्यक्रममा कृषि सम्बन्धित कास्की जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, कृषक, विज्ञ समूह तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







