पोखरामा असोज ४ गते दोस्रो पुम्दी-भुम्दी पर्वतीय दौड हुने


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८२ मा प्रकाशित




पोखरा २, साउन

खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुने दोस्रो पर्वतीय दौड प्रतियोगितालाई पुम्दी–भुम्दीकै उत्सवको रुपमा मनाउन स्थानीयले सुझाव दिएका छ्न् । पोखरा क्लिक प्रालीको आयोजनामा आउँदो असोज ४ गते पोखरामा हुने उक्त प्रतियोगितालाई पोखरा २२ पुम्दी भुम्दीका स्थानीयले गाउँकै उत्सवको रुपमा उक्त प्रतियोगिता बनाउन सुझाव दिएका हुन् ।

मिति घोषणा सहित स्थानीय क्लब,टोल विकास संस्था, जनप्रतिनिधि लगायतका विभिन्न संघ संस्था एवं स्थानीयसँग भएको छलफल क्रममा सहभागिहरूले अघिल्लो बर्षमा भएका कमीकमजोरी सुधार गर्दै उत्कृष्ट व्याबस्थापनमा जुट्न समेत आग्रह गरे । पोखराका तीनवटा पर्यटकीय क्षेत्र विश्व शान्ति स्तुप, पुम्दीकोट र बुद्ध पार्कलाई जोडिएको उक्त खेलकुद प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट भरपूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले भुम्दी भुम्दीको नयाँ पर्यटकीय गन्तव्य कालाबाङ घरेडी बुद्ध पार्कलाई प्रचारप्रसार गर्न उक्त प्रतियोगिता कोशेढुङ्गा सावित हुने बताए । वडामा रहेका २४ वटा टोल विकास संस्था त्यसैगरी विभिन्न क्लब, आमा समूह लगायतकाको उल्लेख्य सहभागिता गराउन आफूहरूले विशेष पहल गर्ने उनले जनाए । पोखरामा पर्यटकको बसाइ अवधि लम्बाउनको लागि पुम्दीभूम्दीमा २७ किलोमिटरको पदमार्ग निर्माण कार्य जारी रहेको उनले बताए। गतवर्ष स्थानीय ठाकुर बरालको विशेष पहलमा ९० लाख र यस वर्ष पद मार्गको लागि करिब ३ करोड बजेट विनियोजन भएको अध्यक्ष बरालले उल्लेख गरे।

विश्व शान्ति स्तुप समितिका सचिव एवं पूर्व प्रधानपञ्च दुर्गा बहादुर गुरुङले उक्त प्रतियोगिता पुम्दी–भुम्दीको छुट्टै ब्रान्ड बनेको हुँदा उक्त प्रतियोगितालाई उत्सवको रुपमा मनाउन सुझाव दिए। उनले पुम्दी भुम्दीमा पर्यटकीय सम्भावना रहेका तारेभिर, फिलिङ्गघारी त्यसैगरी थाप्लेडाँडा लगायतका क्षेत्रको पनि पर्यटन प्रवद्र्धन गर्न आवश्यक भएको बताए।

पुम्दीकोट कोट विकास समितिका उपाध्यक्ष नरहरी बरालले उक्त प्रतियोगिता गाउँको पहिचानसँग जोडिएको हुँदा आफूहरुले सहयोग गर्नुपर्नेमा जोड दिए। कालाबाङ घरेडी बुद्धपाक समितिका अध्यक्ष लाल गुरुङ (राज) ले पहिलो संस्करणमा नौ वर्षदेखि ६१ वर्ष उमेर समूहका व्यक्तिहरू समेत सहभागी भएको स्मरण गर्दै आवश्यक मेडिकल टिम सहित स्वयंसेवकहरू पर्याप्त मात्रामा आगामी दिनमा खटाउनु पर्नेमा जोड दिए।

भूतपूर्व खेलाडी मञ्चका सदस्य एवं प्राविधिक ओम गुरुङले पुम्दी भुम्दी पर्वतीय दौड प्रतियोगिता अरु प्रतियोगिताहरू भन्दा भिन्न खालको जस्तै अन्नपूर्ण माछापुच्छ्रे र पर्यटकीय गन्तव्य शान्ति स्तुप, पुम्दीकोट र बुद्ध पार्क जोडिएको दौड भएको हुँदा निकै आकर्षण भएको जनाए ।

पोखराका पर्यटन व्यवसायी एवं पत्रकार राजु क्षेत्रीले हाम्रो संस्कारमा पर्यटकीय कल्चर कम भएको हुँदा पर्यटकसँग जोडेर गरिने पर्यटकीय क्रियाकलापहरू मेगा इभेन्टको रुपमा आयोजना गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नम्बर २२ वडा युवा परिषद्का अध्यक्ष दिनेश बरालले उक्त प्रतियोगितालाई सफल पार्न आवश्यक समन्वय गर्न आफूहरू तयार रहेको बताए । शुक्रराज माविका शिक्षक मिलन गुरुङले गतवर्ष भएका कमी कमजोरीलाई सुधार्दै यसपाली व्यवस्थापनमा चुस्तदुरुस्त बनाउन आग्रह गरे।

प्रतियोगिताका संयोजक एवं प्रालीका अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद क्षेत्री, कालिमाटी शान्ति स्तुप टोल विकास संस्थाका अध्यक्ष सुदीप बिक, महेश्वरी माविका शिक्षक सञ्जय बराल लगायतले वोल्दै उक्त कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रतिबध्धता जनाए । विश्व पर्यटन दिवसको अवसरमा असोजको ४ गते उक्त प्रतियोगिता हुने भएको पोखरा क्लिक प्रालीका वरिष्ठ संवाददाता असफल गौतमले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख ८० हजार खर्च हुने व्यवस्थापक सागर सुनारले बताए । प्रतियोगितामा प्रथम हुने विजेता धावकलाई रु ३० हजार दोस्रो हुनेलाई १५ हजार तेस्रो हुनेलाई ७ हजार त्यसैगरी पोखरा २२ वडा स्तरिय खुलातर्फ विजेता एकजना महिलातर्फ पुरूष विजेता अर्को १६ वर्ष मुनि उमेर समूहको एकजना र भेट्रान्स ४० वर्षमाथि उमेर समूहका एक एक जनालाई प्रोत्साहन स्वरूप जनही ७ हजार रूपैयाँ प्रदान गरिने भएको संयोजक बरालले जानकारी दिए। उक्त प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकीबाट समन्वय, पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्य, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र त्यसैगरी सिटीवान टेलिभिजन मिडिया पार्टनरको रुपमा जोडिएको छ ।

आफ्नो जन्म गाउँ पुम्दी भुम्दीमा गाउँ पर्यटन प्रबद्र्धन गर्न विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागि हुने धावकहरुको अनलाइन फारम केही समय पछि खुल्ने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।