पोखराबाट स्याङ्जाहुँदै चल्ने सिद्दार्थ राजमार्गमा रातीमा सवारी चलाउन रोक


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०८२ मा प्रकाशित




पोखरा, साउन ४

पोखराबाट स्याङ्जाहुँदै चल्ने सिद्दार्थ राजमार्गमा रातीमा सवारी साधन चलाउन रोक लागेको छ । अविरल वर्षासँगै पहिरोको जोखिम बढेकाले पोखराको छोरेपाटनबाट स्याङ्जाहुँदै सिद्दार्थ राजमार्गमा रातको समयमा सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालय कास्कीले रोक लगाएको हो । जल तथा मौषक पूर्वानुमान महाशाखाका अनुसार अझै केहि समय गण्डकी प्रदेशका विभिन्न ठाउँमा भारी तथा मध्यम वर्षा हुनसक्ने अनुमान रहेकाले सुरक्षा सतर्कता अप्नाई मानवीय तथा भौतिक क्षेती न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जासँगको समन्वयमा सूचना जारी गरिएको कास्की प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्ला सुरक्षा समितिको आईतबार बसेको बैठकले सो रुटमा आकस्मिक सवारी साधनबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । बैठकले सो रुटमा लामा सवारी साधनका लागि अपराह्न ४ बजेपछि र साना सवारी साधनका लागि अपराह्न ५ बजेपछि सञ्चालनमा रोक लगाएको उनले बताए । यद्वपी अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न सकिने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार दिउँसो जारी गरेको सूचनामा भनिएको छ,‘कास्की जिल्लाबाट स्याङ्जाहुँदै सिद्दार्थ राजमार्ग भई चल्ने अत्यावश्यक सेवा बाहेकका लामो दुरिका सवारी साधनहरु मिति २०८२÷०४÷०४ गते साँझ ४ र छोटो दुरिका सवारी साधनह साँझ ५ बजेपछि प्रस्थान विन्दु (कास्की जिल्लाको छोरेपाटन) बाट गन्तव्य स्थानका लागि सञ्चालन नगर्नु, नगराउनुहुन अनुरोध गरिन्छ ।’

प्रशासनले अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालन गर्नुपर्ने भएमा भने सुरक्षा निकायसँग समन्वय गरेर मात्रै सञ्चालन गर्नपनि आग्रह गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।