चीनको तिव्वत भ्रमण सकेर फर्किए गण्डकीका मुख्यमन्त्री पाण्डे


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०८२ मा प्रकाशित




पोखरा, साउन १२

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक हप्ते चीव्वत भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष प्रवेशको अवसरमा चीनको स्वशासित प्रान्त तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी हुन गएका मुख्यमन्त्री सोमबार पोखरा फर्किएका हुन् ।

भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव वाङ झुङजनसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा मुख्यमन्त्री पाण्डेले तिव्वतसँग जोडिएको कोरला नाका नियमित सञ्चालन गर्नका लागि सहकार्यको प्रस्ताव गरेको मुख्यमन्त्री पाण्डेको सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘भेटमा मुख्यमन्त्री पाण्डेले दुई देशबिचको व्यापार, पर्यटन प्रवद्र्दनका लागि सहकार्यको प्रस्ताव गर्नुभयो ।’

सो अवसरमा मुख्यमन्त्री पाण्डेले तिब्बतको नाका भएर मानसरोवर जाने नेपाली र विदेशी यात्रीहरुको यात्रा सहजीकरण गर्ने, चीनका शहरहरुबाट काठमाडौँ र पोखरा दुबैतर्फ सीधा उडान थप गर्ने, तिब्बत र गण्डकी प्रदेशबिच लगानी र पर्यटन प्रर्वद्धनका क्षेत्रमा सम्बन्ध कायम राख्दै विस्तार गर्ने, नेपाल र चीनियाँ ठूला लगानीकर्ता आकर्षित गर्न कर छुटमा सहजिकरण गर्ने, पोखराबाट ल्हासा आउने पर्यटकको भिषा र प्रवेश पास उपलब्धतामा सहजीकरण र सहकार्य गर्ने गराउने विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरी आचार्यले जानकारी दिए ।

भेटमा मुख्यमन्त्री पाण्डेले विभिन्न समयमा चीन सरकारले अनुदान र सहयोग गरेको र सो कारण पूर्वाधार निर्माणसँगै पर्यटन प्रवद्र्दनमासमेत टेवा पुगेको बतए । यसले तिव्वत र गण्डकी प्रदेश सरकारबीचको सम्बन्धमा थप सुदृढ हुने उनले आशा व्यक्त गरे ।

सो अवसरमा सिपिसीका महासचिव वाङ झुङजनले कोरला नाका व्यवस्थित गर्नसके दुई सरकारबीच सहकार्यको अवसर बन्नसक्ने बताए । यसका लागि तिव्वत सरकार सकारात्मक रहेको झुङजनले बताए भनि मुख्यमन्त्रीलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ । उनका अनुसार अन्य धेरै कार्यमा सहकार्य र सहयोग गर्न तिव्वत सरकार तयार रहेकोपनि पाण्डेको भनाई छ ।

तिव्वत भ्रमणका क्रममा सिपिसीका लिञ्जी नगर समितिका पार्टी सचिव आओ लिउक्वान र सो नगरका मेयर बाटासँग पनि मुख्यमन्त्री पाण्डेले भेटवार्ता गरेका थिए । सो अवसरमा मुख्यमन्त्री पाण्डेले नेपालको पर्यटन राजधानी पोखरासँग लिन्जी शहरले गर्दै आएको सहयोग र सहकार्यको प्रशंसा गरेका थिए । भेटमा दुई शहरबीच पर्यटन, खेलकुद, व्यापार लगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा द्विपक्षीय छलफल भएको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।