पोखराको मालेपाटनमा खुल्ला लाखे नाच प्रदर्शन हुँदै, २० टिम सहभागी हुने


     एभरेस्ट आवाज    
     श्रावण १४ गते २०८२ मा प्रकाशित




पोखरा, साउन १४

पोखराको मालेपाटनमा खुल्ला लाखे नाच प्रदर्शन हुने भएको छ । नेवा खलः कास्की अन्तर्गतको ताया मचाः नाच समिति मालेपाटनको आयोजनामा यहि साउन १६ गते शुक्रबार दोस्रो मालेपाटन खुल्ला लाखेनाच प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम–२०८२ हुने भएको हो । पोखरा–५ मालेपाटनस्थित खेलमैदानमा हुने कार्यक्रममा नेवाः मिसा पुचः एकाई मालेपाटन, ल्याम्हः पुचः मालेपाटन र मालेपाटन नेवा गुठी सहआयोजकका रुपमा रहेको जनाइएको छ ।

त्यस्तै, पोखरा महानगरपालिका वडा नम्बर–१, २, ३, ४, ६। ७, ८, ९, ११ र १८ सहयोगीका रुपमा रहेका छन् ।

मैत्रीपूर्ण लाखे नाच प्रदर्शनमा पोखराका विभिन्न २० स्थानबाट लाखे नाच समुहहरूले सहभागिता जनाउने आयोजक ताया मचाः नाच समिति मालेपाटनले जनाएको छ । सो कार्यक्रम मौलिक नेवारी संस्कृति, परम्परा र समुदायको ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्दन र प्रवद्र्दन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम संयोजक विनय श्रेष्ठले जानकारी दिए । ‘यो सांस्कृतिक आन्दोलन पनि हो र मालेपाटनलाई सांस्कृति पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्य पनि हो’–उनले भने । कार्यक्रमले युवापुस्तालाई जात्रा र मौलिक संस्कृतिमा आकर्षित गराउन भूमिका खेल्ने ताया मचाः नाच समिति मालेपाटनको अपेक्षा छ ।

कार्यक्रमका दिन आयोजना स्थल मालेपाटन खेल मैदान वरपर नेवारी खाना तथा हस्तकलाका स्टलहरु रहनेछन् । कार्यक्रममा सहभागी नेवार महिला तथा पुरुषहरु परम्परागत नेवारी पोषाकमा सजिएर आउने आयोजकले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।