पोखरा, १४ भदौ
तमु धिं नेपालले पोखरामा शनिवार हालै प्लस टु उतिर्ण तमु बिद्यार्थीलाई करिअर कान्सिलिङसहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
प्लस टु उतिर्ण ७४ जना तमु बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी डा.चन्द्रबहादुर गुरुङ र तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले खादा र सम्मानपत्रले सम्मान गरेका थिए भने वरिष्ठ संचारकर्मी दिपेन्द्र श्रेष्ठले करिअर कान्सिलिङ गरेका थिए । कार्यक्रममा मिस एस इ इ पोखरा २०२५ बिजेता प्रीन्सु गुरुङलाई विशेष सम्मान गरिएको थियो।
प्रमुख अतिथी डा. चन्द्रबहादुर गुरुङले बिद्यार्थीहरुलाई बधाई दिदै लाहुरेको एतिहासिक योगदान र तमु जातिको बारेमा बुझ्नुपर्ने बताए । उनले तमु बिद्यार्थीहरु शिक्षालगायत हरेक क्षेत्रमा उत्कृष्ट बन्ने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
एभरेष्ट मिडियाका प्रमुख कार्यकारी अधिकृत संचारकर्मी मोटिभेसनल स्पिकर दिपेन्द्र श्रेष्ठले प्रस्तुति राख्दै प्लस टु उतिर्ण विद्यार्थीले पहिला आफुलाई राम्ररी चिन्ने अनि लक्ष्य निर्धारण गरि लक्ष्य प्राप्तिका लागि निरन्तर परिश्रम गर्नुपर्ने बताए। यो उमेर करिअर बनाउने टर्निङ पोइन्ट भएकाले जिन्दगी कस्तो बनाउने हो संवेदनशील बन्नुपर्दछ भन्दै धेरै उदाहरणहरु प्रस्तुत गरेका थिए।
१२ कक्षा पास गरेपछि धेरै विद्यार्थीहरू स्वतन्त्रताको अनुभव गर्दै रमाइलो गर्नतिर आकर्षित हुन्छन्। कतिपय अनिश्चिततातिर, कतिपय छिटो पैसा कमाउने शार्टकट सोचतिर तानिन्छन्। तर, जीवनको वास्तविक यात्रा भने अब बल्ल शुरु हुने भन्दै मोटिभेसनल स्पिकर/सहजकर्ता श्रेष्ठले तमु धिं नेपालद्वारा आयोजित “कक्षा १२ उत्तिर्णलाई सम्मान तथा करियर डेभलपमेन्ट एण्ड मोटिभेसन प्रोग्राममा सफल भविष्य निर्माण गर्न ‘Growth Mindset’ अपनाउन आवश्यक रहेकोमा जोड दिए । उनले भने, “अहिले लक्ष्य (Goal) राख्ने बेला हो। लक्ष्यविहीन प्रयास जहाज बिना कम्पासजस्तै हुन्छ। स्पष्ट दिशा नभए मेहनत खेर जान्छ।”
श्रेष्ठले जीवनमा आउने चुनौतीलाई अवसरका रूपमा लिन आग्रह गरे। “Resilience (धैर्यता) नै सबैभन्दा ठूलो शक्ति हो। असफलता आउँछ, तर त्यसमाथि उठेर अघि बढ्ने बानी बनाउनु जरुरी छ,” उनले भने। साथै उनले आत्मबल र अनुशासनलाई दीर्घकालीन सफलताको आधार ठहर गरे।श्रेष्ठले लड्नु ठूलो कुरा नभएको बताउदै लडेर उठ्न नसक्नु चाँहि समस्या भएको जिकिर गरे । सपना पूरा गर्ने यात्रामा कैयन पटक आरोह अवरोह हुन्छ, उतारचढाव आउछ, यसलाई सामान्य रुपमा लिदै धुलो टकटकाउदै उठेर यात्रा जारी राख्ने हिम्मत जुटाउन आग्रह गरे ।
उनका अनुसार, युवाहरूले अहिले नै समय व्यवस्थापन (Time Management) सिक्नुपर्छ। “अहिले गुमाएको समय जीवनमा कहिल्यै फिर्ता आउँदैन। हरेक क्षणको सदुपयोग गर्नुपर्छ,” श्रेष्ठको भनाइ छ।त्यस्तै उनले राम्रो बानी (Habits) लाई जीवनको आधारशिला बताए। “आजको बानीले भोलिको चरित्र र उपलब्धि निर्माण गर्छ,” उनले उल्लेख गरे।
खुला सोच र सिर्जनशीलता :
सहजकर्ता श्रेष्ठले युवाहरूलाई खुला सोच (Open-mindedness) राख्न र नयाँ कुरा सिक्न आग्रह गरे। उनका अनुसार, अरूको बाटो नक्कल गर्नु भन्दा आफ्नो बाटो आफैं बनाउन सक्ने सोच हुनुपर्छ। “Innovation (नवप्रवर्तन) बाटै नयाँ अवसर जन्मिन्छ,” उनले भने। श्रेष्ठले Networking (सकारात्मक सम्बन्ध) को महत्व पनि जोड दिए। “सही गुरु, साथी र समुदायसँग जोडिन सके जीवनमा अवसरको ढोका खुल्छ,” उनले बताए। त्यस्तै उनले युवाहरूलाई आत्मचेतना (Self-Awareness) बढाउन, आफ्नो शक्ति–कमजोरी पहिचान गर्न र निरन्तर Transformation (रूपान्तरण) गर्न प्रेरित गरे।
उनले भने, “Effort (प्रयास) बिना सफलता सम्भव छैन। निरन्तर मेहनत, निरन्तर सुधार र आत्मविश्वासका साथ अघि बढ्न सक्यो भने मात्र हरेक युवाले आफ्नो भविष्य आफैं ‘Design’ गर्न सक्छ।”
उनले करियरकालागि शिक्षा महत्वपूर्ण जग भएको बताउदै कसैको कर काप आग्रह पूर्बाग्रह, रहरमा नभई आफ्नो लक्ष्य को गन्तब्यमा पुर्याउने रोजाईको बिषय छनौट गरि उच्च शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले आजकाल १२ कक्षा पास गरेपछि पढ्ने बहानामा बिदेश मोह ट्रेण्डको रुपमा बढ्दै गएकोमा चासो राख्दै तमु बिद्यार्थीहरुलाई भरसक नजान, गए पनि सोचि बिचारी जान र पढि सकेपछि देश बनाउन फर्कि आउन आग्रह गरे ।
१२ कक्षा पास गरेका युवाहरूलाई भविष्यको यात्रामा तयार पार्ने क्रममा सहजकर्ता दीपेन्द्र श्रेष्ठले ‘रुपान्तरण र नविकरण)’ को प्रेरणादायी सन्देश प्रस्तुत गरेका छन्। उनका अनुसार, जीवनमा नयाँ अवसरहरू पाउन पुराना कमजोरी, असफलता र नकारात्मक बानी त्याग्न आवश्यक हुन्छ।
श्रेष्ठले उदाहरण स्वरूप चिल (Eagle) को जीवन–चक्र प्रस्तुत गरे। उनले भने, “जब चिल बूढो हुन्छ, उसको नङ, पखेटा र चुच्चो कमजोर र भुत्ते हुन्छ। यसले खान, उड्न र बाँच्न कठिन हुन्छ। त्यसबेला चिल उच्च चट्टानी पहाडमा गई आफैंलाई दुख दिने प्रक्रिया सुरु गर्छ – नङ फोड्छ, पखेटा झार्छ, चुच्चो तोड्छ। यो प्रक्रिया एकदमै पीडादायी हुन्छ तर केही महिनापछि नयाँ, बलियो र ताजा जीवन लिएर फर्किन्छ।”
उनका अनुसार, मानव जीवन पनि यस्तै प्रक्रिया हो।“पुराना गलत बानी, डर, असफलता र कमजोरी छोड्नुपर्छ। सुरुमा पीडा हुन्छ, गाह्रो लाग्छ, तर पुरानो त्यागेपछि मात्र नयाँ अवसर, नयाँ शक्ति र नयाँ यात्रा सुरु हुन्छ।” श्रेष्ठले युवाहरूमाझ स्पष्ट सन्देश दिए – “पुरानो छोड, नयाँलाई अपनाउ। पीडा छोटो हुन्छ, तर फल लामो समय टिक्छ। जीवनलाई समय सँगसँगै निरन्तर नविकरण गर्न सके मात्र भविष्य उज्यालो हुन्छ।”
श्रेष्ठले तमु बिद्यार्थीहरुलाई आफ्नो भाषा, संस्कृति परम्पराप्रति सांस्कृतिक चेत हुनु पर्ने बताउदै सामाजिक/सांस्कृतिक कार्यक्रमहरुमा भाग लिन, निर्णय प्रक्रियामा सहभागिता जनाउन, तमु बिद्यार्थी समितिलाई पुनर्गठन गरि सक्रिय बनाउन र बिद्यार्थीहरुको क्षमता अभिबृद्दिकालागि तालिमको आयोजना गर्ने अभियानमा पनि लाग्न सुझाब दिए ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षता भएको कार्यक्रममा तमु धिं नेपाल केन्द्रिय आमा समिती अध्यक्ष पवित्र गुरुङ, केन्द्रिय युवा समिती अध्यक्ष रमेश गुरुङ, तमु धिं नेपाल कास्की जिल्ला समिती अध्यक्ष प्रेम बहादुर गुरुङ, तमु विद्यार्थी समितिकी रिसिता गुरुङले शुभकामना एवम बधाई मन्तव्य ब्यक्त गरेका थिए भने प्रथम उपाध्यक्ष गीमाया गुरुङले स्वागत र महासचिव जुनाकुमारी गुरुङले कार्यक्रम संचालन गरेका थिए।
कार्यक्रममा चारभन्ज्याङ तमु समाज पोखराका युवा समिती र तमु धिं नेपाल केन्द्रिय युवा समितिका कलाकारहरुले नृत्य प्रस्तुती गरेका थिए।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






