पोखरा, असोज ५
पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा भोलिदेखि नवदुर्गा महोत्सव शुरु हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नेपालीको महान चचाँड बडादशैंको पहिलो दिन भोलि असोज ६ गते घटस्थापनाका दिनदेखि नवदुर्गा महोत्सव शुरु हुन लागेको हो । नवरात्री भरी सञ्चालन हुने महोत्सव असोज १५ गते महानवमीका दिन समापन हुने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।
नवदुर्गा महोत्सव महोत्सवको अवसरमा नौ दिनसम्म श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने उनले बताए । उनका अनुसार महोत्सव अवधिभर प्रत्येक दिन बिहान ९ः०० देखि मध्याह्न १२ः०० बजेसम्म महायज्ञ सञ्चालन हुनेछ । त्यस्तै सतचण्डी महानुष्ठान बिहान ६ः०० देखि ९ः०० बजेसम्म हुनेछ भने भजनकीर्तन दिउँसो २ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने उनले जानकारी दिए ।
बडादशैं अवधिभर मन्दिरमा नित्य पूजा बिहान ४ बजेदेखि प्रारम्भ हुने जनाइएको छ भने मन्दिर दर्शनका लागि भक्तजनहरूका लागि विहान ५ बजेदेखि खुला गरिनेछ । साथै प्रत्येक साँझ ६ बजे आरती गरिनेछ । महायज्ञका वाचकका रूपमा श्रीकृष्णनुरागी पण्डित पशुपति पौडेल रहेको श्रेष्ठले जानकारी दिए ।
विजयादशमीको पावन अवसरमा समितिले २०६४ सालदेखि विध्यवासिनी नवदुर्गा महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सवका अवसरमा यसअघि हुँदै आएको विन्ध्यवासिनी नवदुर्गा शोभा यात्रा भने यस वर्ष नगरिने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्वतयारीमा बाधा पुगेकाले शोभायात्रा स्थगित गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







