टिकट नपाएपछि इलाम जान रोकिए गृह र उर्जा मन्त्री


     एभरेस्ट आवाज    
     असाेज २० गते २०८२ मा प्रकाशित




इलामको पहिरो प्रभावित क्षेत्रमा जाने तयारी गरेका गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङको योजना स्थगित भएको छ ।

मन्त्री अर्याल र घिसिङ सोमबार इलामको पहिरो प्रभावित क्षेत्रमा जाने तयारी थियो । तर, सोमबार जहाजको टिकट नपाएपछि स्थगित भएको गृह मन्त्रालय श्रोतले जनाएको छ । असोज १८ र १९ गतेको अविरल वर्षापछि इलाममा सबैभन्दा बढी क्षति भएको थियो ।इलाममा मात्रै पहिरोले बस्ती पुर्दा ७ जना बालबालिकासहित ३७ जनाको मृत्यु भएको छ। उक्त क्षेत्रको स्थलगत अवलोकन गरी त्यहााको वस्तुस्थितीको जानकारी लिन उनीहरू त्यसतर्फ जाने तयारी थियो । काठमाडौँबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भए पनि नियमित जहाजको टिकट नपाएपछि स्थगित भएको स्रोतको भनाइ छ ।

आज त्यता जाने भनिएको थियो । तर टिकट नपाएपछि स्थगित भयो । अर्को मिति तय भएको छैन’, स्रोतको भनाइ छ । उनीहरूसँगै गृह सचिव, ऊर्जा सचिव र भौतिक सचिव पनि इलाम जाने तयारी थियो । कोसी प्रदेशका धेरै जिल्लामा थुप्रै घरपरिवार पहिरो र डुबानका कारण विस्थापित भएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।