पोखरा सडक महोत्सवको संयोजकमा गौतम चयन


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०८२ मा प्रकाशित




फाईल फोटो

रेस्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको कार्यसमिति बैठकले आगामी २७ औं पोखरा सडक महोत्सवका लागि संयोजकमा प्रथम उपाध्यक्ष वसन्त गौतमलाई चयन गरेको छ ।

समितिको आज बसेको बैठकले आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने महोत्सवको संयोजक मण्डल र स्टेरिङ कमिटी गठन गरेको हो । त्यस्तै कार्यसमिति सदस्य सुनिलबहादुर भट्टराई र सुमन भट्टराईलाई सह–संयोजकका रूपमा जिम्मेवारी दिइएको छ । महोत्सवको स्टेरिङ कमिटीमा अध्यक्ष विश्वराज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्वितीय उपाध्यक्ष विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन र कोषाध्यक्ष रोशनजङ्ग कार्की गरी छ सदस्यीय समिति गठन गरिएको छ ।

रेवान पोखराले विगत २६ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड क्षेत्रमा ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ सडक महोत्सव आयोजना गर्दै आएको छ । करिब तीन किलोमिटर क्षेत्रफलमा फैलिएको लेकसाइड क्षेत्रमा आयोजना हुने यो महोत्सवले पोखरालाई अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य स्थलका रूपमा स्थापित गरेको छ ।महोत्सवको उद्देश्य कला–संस्कृति प्रवद्र्धन, स्थानीय उत्पादनको बजार विस्तार, व्यापार अभिवृद्धि, ब्रान्डिङ तथा लोपोन्मुख सामग्रीको संरक्षण र प्रदर्शनका लागि साझा मञ्च उपलब्ध गराउनु रहेको रेवानले जनाएको छ । संयोजक गौतमका अनुसार यस वर्षको महोत्सवलाई अझ आकर्षक र सहभागिता बढाउन विभिन्न सरोकारवालाको सुझाव र सल्लाह समेटिनेछ ।

रेवानका अनुसार सडक महोत्सवले स्थानीय आर्थिक गतिविधि प्रवद्र्धन, विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । निरन्तर २६ वर्षदेखि आयोजना हुँदै आएको यस महोत्सवले अब नेपाली मात्र नभई विदेशी पर्यटकलाई पनि नयाँ वर्ष पोखरामै मनाउने आकर्षक वातावरण सिर्जना गर्न सफल भएको आयोजकको भनाइ छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।