दर्शकले रुचाए,चलचित्र ‘वरिष्ठ बलराम’लाई


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०८२ मा प्रकाशित




तिहारलाई लक्षित गर्दै भाइटीका अर्थात् यही कात्तिक ६ गतेदेखि नेपालभर प्रदर्शित चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकले रुचाएका छन् ।

प्रदर्शनको पहिलो दिन सबैजसो हल भरिएको र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको अभिनेता विजय बरालले जानकारी दिए । अभिनेता बराल र दयाहाङ राई, अभिनेत्री सम्वृद्धि बरालसहितका कलाकार टोलीले चलचित्र हेर्नआएका दर्शकमाझ साक्षात्कार गर्दै चलचित्रको सवल र दुर्वल पक्षका बारेमा जानकारी लिइरहेको देखिन्थ्यो ।

अभिनेता बरालले भने,“टीकाको दिन भए पनि केही चलचित्र हल पुगेर दर्शकको प्रतिक्रिया लिएका छौँ । हामीले एउटा सामाजिक विषयलाई समेटेर मनोरञ्जनात्मक चलचित्र तयार गरेका हौँ । दर्शकले पनि सोही किसिमको प्रतिक्रिया दिनुभयो, दशर्कबाट प्राप्त सुझावले हाम्रो टोलीलाई ऊर्जासहित हौसला मिलेको छ, चलचित्रको सुरुआति दिन राम्रो छ ।”

प्राकृतिक स्रोतको दोहन र समाजमा स्थापित एवं उदाउँदो व्यक्तिबीचको सङ्घर्षको कथालाई ‘माटो सुहाउँदो’ भन्दै दर्शक दीर्घाबाट मनोरञ्जनसँगै सामाजिक सन्देश पनि समेटिएको प्रतिक्रिया प्राप्त भएको अभिनेता बरालले बताए । रङ्गमञ्चमा गुरूचेलाका रुपमा परिचित अभिनेता बराल र राईले उक्त चलचित्रमा समान्तर भूमिका निर्वाह गर्नुभएको छ । यसअघिका चलचित्रमा भने अभिनेता राई मुख्य र बराल सहायक भूमिकामा देखिएका छन् । चलचित्र ‘वरिष्ठ बलराम’मा अभिनेताद्वय राई र बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीपकुमार चौधरी ९पिके० लगायत कलाकारले अभिनय छ ।

चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन, कथा र सम्पादन गरेका छन् भने पटकथा महेश दवाडीले तयार पारेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।