कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक तीन दिनपछि आज बस्ने भएको छ ।

पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । पार्टीको गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको विश्लेषणसँगै राजनीति र देशको भविष्यमा पार्टीको भूमिका तय गर्दै आगामी रणनीतिक बाटो तयार पार्न गत असोज २८ गते सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै सकिएको छैन ।

कांग्रेसभित्र पार्टीको १५औँ महाधिवेशन नियमित गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेबारेमा चर्को बहस चलेको छ । यस्तै सरकारले फागुन २१ मा निर्वाचनको मिति तोकेसँगै निर्वाचनअघि महाधिवेशन गर्ने कि निर्वाचनपछि भन्नेबारे पनि बहस चलेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

आजको बैठकमा पनि बोल्न बाँकी केन्द्रीय सदस्यले महाधिवेशनका विषयमा आफ्ना भनाई राख्ने बताईएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।