म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०८२ मा प्रकाशित




आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले विसं २०७९ मा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनकै मतदानस्थललाई निरन्तरता दिन प्रस्ताव गरिएको जानकारी दिए । “अघिल्लो निर्वाचनमा कायम भएका मतदानस्थलको अवस्थाका बारेमा स्थानीय तहहरूबाट कात्तिक २० गतेसम्म सिफारिस मागिएको थियो”, उनले भने, “स्थानीय तहको सिफारिस, सुरक्षा निकाय र सरोकार भएकाहरूको सुझावका आधारमा मतदानस्थल र केन्द्र प्रस्ताव गरिएको हो ।”

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले उक्त प्रस्ताव गरेको हो । गत निर्वाचनमा यहाँ ८२ वटा मतदानस्थलमा ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्र थिए । प्रतिनिधिसभामा एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीका छ स्थानीय तहमा ४५ वटा वडा छन् ।

म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता थिए । निर्वाचन आयोगले गत असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार ८४ हजार ५२० जना कायम भएको छ । यही कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली सङ्कलन भइरहेको छ ।

असोज १० गतेदेखि यता ५८३ जनाले नामावली दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द थापाले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।