कांग्रेस गण्डकीले भन्याे : नियमित महाधिवेसन नहुने हाे भने मंंसिर भित्रै विशेष महाधिवेसन


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०८२ मा प्रकाशित




काठमाडौँ — स्थानीयदेखि केन्द्रीय तहसम्मको पदावधि सकिन लागेका बेला नेपाली कांग्रेसले नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा महिनौंदेखि निर्णय गर्न नसक्दा पार्टीभित्र निराशा र अलमल बढेको कार्यकर्ताहरूले बताएका छन्। करिब एक महिनादेखि जारी केन्द्रीय कार्यसमितिको बैठक निष्कर्षविहीन बन्दै जाँदा संगठन तल्लो तहसम्म प्रभावित भएको नेपाली कांग्रेस गण्डकीले निश्कर्ष निकालेकाे छ ।

कांग्भेरेस गण्डकीकाे आजकने भेलामा सहभागीहरूले कांग्रेसले अब ढिलाइ र अलमलबाट बाहिरिनुपर्ने, स्पष्ट दृष्टिकोणसहित निर्भीक रूपमा अगाडि बढ्नुपर्ने र संगठनलाई नयाँ ऊर्जा दिएर आगामी आमनिर्वाचनतर्फ अघि धपाउनुपर्ने आवश्यकता जोड दिए।

भेलाले वर्तमान अनिश्चितता अन्त्य गर्न मंसिरभित्र १५औँ महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने निष्कर्ष निकालेको छ। नियमित महाधिवेशन सम्भव नभएमा पार्टी विधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन मंसिर मसान्तभित्र बोलाउनुपर्ने औपचारिक माग समानान्तर रूपमा अघि सारिएको छ।

नेपाली कांग्रेसले आफ्नो गौरवपूर्ण इतिहास र स्थापित लोकतान्त्रिक आदर्शहरूलाई पुनः पुष्टि गर्दै पार्टीभित्रको एकता र सुदृढताका लागि कार्यकर्तालाई सङ्गठित रूपमा अघि बढ्न आह्वान गरेको छ।

देश गम्भीर राजनीतिक र आर्थिक चुनौतीहरूको सामना गरिरहेका बेला लोकतन्त्र, राष्ट्र र जनताको पक्षमा प्राप्त उपलब्धिहरूको रक्षा गर्न कांग्रेस नेतृत्व निर्धारका साथ उभिएको पार्टीका नेताहरूले बताएका छन्। वर्तमान परिस्थितिले पार्टीभित्र एकजुट भई अघि बढ्नु अपरिहार्य बनेको मूल्यांकन गर्दै कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका पुनर्स्मरण गराएको हो।

पार्टीले राष्ट्र, राष्ट्रियता, जनतन्त्र, समाजवाद र धर्मनिरपेक्षताको मार्गबाट विचलित नहुन कार्यकर्तालाई आग्रह गर्दै संगठनात्मक मजबुतीले मात्रै कांग्रेसको भविष्य उज्ज्वल बन्ने बताएको छ। कांग्रेसका अनुसार लोकतन्त्रको दीगो रक्षा र जनता अभिमुख शासन संरचनाको विकास नै पार्टीको प्रमुख लक्ष्य हो।

कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टीको आदर्श र सिद्धान्तलाई व्यवहारमा उतार्न प्रेरित गर्दै कांग्रेसले “एकता, प्रतिबद्धता र निरन्तर संघर्ष” को भावना लिएर अघि बढ्ने प्रतिज्ञा दोहोर्याएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।