पोखरामा प्रवचन दिँदै घनश्यामदासजी महाराज


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०८२ मा प्रकाशित




पोखरा, २९ कात्तिक
राधा माधव समिति नेपालका संरक्षक घनश्यामदासजी महाराजले पहिलो पटक पोखरामा प्रवचन दिने भएका छन् । राधा माधव समिति नेपालको आयोजनामा यही मंसिर १ देखि ३ बजेसम्म पोखरामा कार्यक्रम हुने तय भएको हो ।
तीन दिन उनले दिउँसो ३ बजेदेखि साढे ५ बजेसम्म प्रवचन दिने आयोजकले जनाएको छ । घनश्यामदास जगद्गुरु कृपालुजी महाराजका जेठा छोरासमेत हुन् । निशुल्क प्रवेश पाइने प्रवचनअघि मंसिर १ गते पोखरा सभागृहबाट न्युरोड, चिप्लेढुंगा, सिद्धार्थचोक हुँदै सिर्जनाचोकसम्म रथयात्रा हुने कार्यक्रमकी व्यवस्थापक अस्मिता भण्डारीले जानकारी दिइन् ।
पोखरामा पहिलो पटक यस खालको कार्यक्रम भएकाले लाभ लिन आयोजकले अनुरोध गरेको छ । ‘वृन्दावनमा रहेको ज्ञानको रस यहाँका साधकहरुले पनि प्राप्त गरुन् भनी कार्यक्रम आयोजना गरिएको हो, हामी समयमै उपस्थित भई कार्यक्रमको लाभ लिन आग्रह गर्दछौँ,’ व्यवस्थापक भण्डारीले भनिन् ।
राधे राधे नामले चिनिने राधा माधव समिति नेपालका पोखराका लेखनाथ, रामबजार र न्युरोड गरी ३ केन्द्र छन् । सिर्जनाचोकमा कार्यक्रम हुने हलको क्षमता एक हजार तीन सयमात्र भएकाले समयमै उपस्थित हुन कार्यक्रम संयोजक हरि लामिछानेले आग्रह गरे । पोखरामा मात्र यसका ८ हजार साधक छन् ।
घनश्याम दासजी महाराज दिव्य सन्त हुन् । संस्कृत भाषाको प्रारम्भिक अध्ययन गुरुकुलबाट सुरु गरेका उनले दर्शनशास्त्रमा एमए र विधिशास्त्रमा स्नातक गरेका छन् । चारै वेद, गीता, भागवत, अठार पुराण, रामायण तथा अन्य अनगिन्ती शास्त्रको अद्भुत ज्ञान उनका प्रवचनमा पाइन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।