सन्देश श्रेष्ठ
पोखरा, मंसिर ८
आहा ! रारा पोखरा गोल्डकप माघ अन्तिम साताबाट हुने भएको छ । आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करण आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म आयोजना हुने आयोजक सहारा क्लव पोखराले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिता आयोजना गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सो मिति उपलब्ध गराएको पत्रकार सम्मेलनमा आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।
२५ औं संस्करणलाई रजत वर्षको रुपमा मनाउने र यसलाई विशेष प्रतियोगिता बनाउने आयोजक सहारा क्लवको योजना छ ।
प्रतियोगितामा यस वर्ष पनि १२ टिमले सहभागिता जनाउने भएका छन् । जसमा तीन विदेशी क्लब, ए डिभिजन क्लवहरु र आयोजक सहारा क्लव सहभागि हुने अध्यक्ष थापाले बताए । आयोजक सहाराले पोखरासँग भगिनी सम्बन्ध बनाएका सहरबाट टिम ल्याउने जनाएको छ । जसका लागि पोखरा महानगरपालिकासँग सहकार्य गर्ने थापाले उल्लेख गरे । पोखरासँग चीनको कुन्मिङ, ग्वाञ्झाओ, छुसाओ, युविन, नानिङ, हाईकाओ, जापानको कोमागाने र होकुतो, टर्किको आडालर, दक्षिण कोरियाको ग्यानबुकगुसँग भगिनी सम्बन्ध बिस्तार गरेको छ । तिनै भगिनी सम्बन्ध गाँसिएका सहरहरुबाट टिम ल्याउन प्रयास गरिने उनको भनाई छ ।
अध्यक्ष थापाले प्रतियोगितोका ख्यातीलाई मध्यनजर गर्दै गुणस्तरीय फुटबल खेलाउने प्रयास निरन्तर गरिराखेको बताए । उनले २५ औं संस्करण विशेष हुने भन्दै यसका लागि उत्कृष्ट टिम, व्यवस्थापन र दर्शक सहभागिता बढाउन निरन्तर लाग्ने प्रतिबद्दता जनाए ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले नै निरन्तरता दिने जनाइएको छ । हिमश्री फुड्सले १० वर्षका लागि पहिले नै सम्झौता गरिसकेको छ ।
यसैबीच, क्लवले नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा हालै आयोजना गरेको च्यारिटी डिनरबाट १७ लाख ४१ ह्जार रुपैयाँ बचत गरेको जनाएको छ । क्लवद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीको सहयोगार्थ गत कात्तिक १४ गते आयोजित च्यारिटी डिनरमा कुल २४ लाख १९ हजार १ सय ७७ रुपैयाँ आम्दानी भएकोमा ६ लाख ७७ हजार ५ सय ५१ रुपैयाँ खर्च भई सो रकम बचत भएको अध्यक्ष थापाले जानकारी दिए । क्लवका अनुसार च्यारिटी डिनरमा टिकटबाट १० लाख ८७ हजार ५ सय रुपैयाँ संकलन भएको थियो भने १० लाख ८९ हजार ६ सय ७७ रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
सो डिनरमा घोषित रकममध्ये २ लाख ४२ हजार उठ्न बाँकी रहेको क्लवका बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।
यसअघिका वर्षहरुमा देउसी भैलो खेल्दै आएको सहाराले यस वर्ष देउसी भैलोको सट्टा च्यारिटी डिनर गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन २० गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा चरम लापरवाही भएको…





