स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गङ्गा’ भवन निर्माण


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०८२ मा प्रकाशित




स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गङ्गा’ भवनको निर्माण कार्य सम्पन्न भएको छ ।

महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट नजिक एक रोपनी चार आना जग्गामा निर्मित ‘गीत गङ्गा’ सङ्गीतमय भवनमा रूपान्तरण भएको छ । त्यहाँ एक अत्याधुनिक स्टुडियो, विभिन्न सङ्गीतका कक्षाकोठाहरू, नारायण गोपालको सङ्ग्रहालय र एक सङ्गीतसम्बन्धी एफएम रेडियो पनि सञ्चालनको तयारी भइरहेको छ । यहाँका दुई भवनमध्ये एउटालाई ‘गीत गङ्गा’ र अर्कोलाई नारायण गोपाल सङ्गीत कोषको कार्यालयका रूपमा निर्माण गरिएको कोषले जनाएको छ ।उक्त भवन निर्माणार्थ रु पाँच करोड ५० लाख विनियोजन भएपछि विसं २०७७ देखि काम सुरू भएको कामपा–३ का वडाध्यक्ष एवं कोषका अध्यक्ष दीपक केसी जानकारी दिए ।‘गीत गङ्गा’ भवन नेपालको सबैभन्दा ठूलो ‘फुल अर्केष्ट्रा’ सहितको स्टुडियो निर्माण हुँने उनले बताए ।

अध्यक्ष केसीले पहिलो कार्यकालमा वडाध्यक्ष हुँदा २०५३ सालमा महाराजगञ्जमा नारायण गोपाल चोक नामकरण गरी उनको शालिक निर्माण गराएका थिए । यही मङ्सिर १९ गते नारायण गोपालको ३५औँ स्मृति दिवसका अवसरमा कोषको आयोेजनामा ‘गीत गङ्गा’ भवनको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबाट उद्घाटनका साथै स्रष्टा सम्मान र पुरस्कार वितरण कार्यक्रम हुँदैछ ।

कोषले गायक तथा पूर्वराज्यमन्त्री रामवीर मानन्धर र वरिष्ठ सर्जक बिबी थापालाई सम्मान र जनही रु ५१ हजार राशिको पुरस्कार गीत रचना तर्फ बालकृष्ण सजीव, सङ्गीत तर्फ राजु अग्रवाल र गायन तर्फ दावा ग्याल्मो देवानलाई पुरस्कार प्रदान गरिने जनाएको छ ।सफल एवं ख्यातिप्राप्त आधुनिक नेपाली गायक नारायण गोपाल गुरूवाचार्यको जन्म विसं १९९६ असोज १८ र मृत्यु विसं २०४७ मङ्सिर १९ भएको थियो । नेपालको पहिलो पुस्ताका गायक नारायण गोपालका एक सय ३७ गीत रेकर्डिङ भएका छन् ।

उनका ‘बिछोडको पीडा’, ‘ए कान्छा ठट्टैमा यो वैँश जान लाग्यो’, ‘जाग, लम्क चम्क हे’, ‘गल्ती हजार हुन्छन्’, ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘ईश्वर तैँले रचेर फेरि’, ‘मेरो बेहोसी’, मुटु माथि ढुङ्गा राखी’, ‘मलाई छोडी मेरो छायाँ’, ‘छोपिएर घामको झुल्का’, ‘पर्खी बसेँ आउला भनीँ’ लगायत सयौँ लोकप्रिय गीत छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।