पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा–१९ पुरुन्चौर, चुरुङ्गामा दोस्रो दाँई महोत्सव–२०८२ हुने भएको छ ।
पोखरा सबै मौसमका लागि भन्ने मुल नारा सहित यही मंसिर १३ गते शनिबार दोश्रो दाँई महोत्सव हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । गत वर्षदेखि सुरु गरिएको दाँई महोत्सवले कृषि–पर्यटन प्रवर्द्धन, परम्परागत कृषि प्रणाली संरक्षण तथा कृषक सम्मानलाई विशेष प्राथमिकतामा राखेको महोत्सवका संयोजक हरी भुजेलले जानकारी दिए । महोत्सवमा करिव एक हजार स्वदेशी र विदेशी पर्यटक तथा स्थानीयवासी सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
दाँई महोत्सवमा परम्परागत कृषि अभ्याससँग सम्बन्धित विविध प्रतियोगिता तथा क्रियाकलाप रहने छन् । उत्कृष्ट गोरु पालक किसान प्रतियोगिता, उत्कृष्ट धान उत्पादक किसान सम्मान,धान चुट्ने दँदेरा प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगिता, सहभागी दँदेरालाई टोपी वितरण रहेका छन् ।कार्यक्रम संयोजक भुजेलले दाँई महोत्सवले कृषि, संस्कृति र पर्यटनबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बताउँदै कार्यक्रमलाई सफल बनाउन सञ्चारकर्मी तथा सरोकारवालाको साथ–सहयोग आवश्यक भएको उल्लेख गरे।
पत्रकार सम्मेलनमा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले परम्परागत कृषि प्रणाली संकटमा परेको बेला पर्यटन परिषदले महोत्सव मार्फत युवापुस्तालाई खेती–किसानीप्रति आकर्षित गर्ने र किसानलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे।नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले पर्यटन प्रवद्र्धनमा मेला महोत्सवले भुमिका खेल्ने बताउदै दाँई महोत्सव पर्यटकका लागि नयाँ आकर्षण हुने बताए ।महोत्सवलाई पोखरा महानगरपालिका वडा नं. १९ ले सहकार्य गरेको छ भने स्थानीय आयोजकको रुपमा चुरुङ्गा टोल विकास संस्था रहेको छ । पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, कृषि पर्यटनलाई अघि बढाउँदै पर्यटन क्षेत्रमा विविधता थप्ने, उत्कृष्ट गोरु पालक तथा धान उत्पादक किसानलाई सम्मान गर्दै कृषकलाई प्रोत्साहन, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीको प्रत्यक्ष अवलोकन गराउने, पर्यटकलाई नेपालको स्थानीय संस्कृति, परम्परा र कृषि अभ्यासबारे जानकारी दिने लक्ष्य महोत्सवले लिएको छ ।
कार्यक्रम मार्फत कृषकको सीप र पहिचानलाई सम्मान गर्दै जनस्तरमा परम्परागत खेतीप्रति आकर्षण बढ्ने विश्वास गरिएको छ ।त्यस्तै, पोखरा पर्यटन राजधानी घोषणा भइसकेको र पोखरा भ्रमण वर्ष २०२५ चलिरहेको अवस्थामा दाँई महोत्सवले भ्रमण वर्षका लक्ष्य प्राप्तिमा समेत योगदान पुर्याउने अपेक्षा परिषदले गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






