कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकारले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण सुरु गरेको छ ।
मन्त्रालयले सबै स्थानीय तह, प्रदेशको कृषि मन्त्रालयलगायत सरोकार भएका निकायसँगको समन्वयमा तथ्याङ्क सङ्कलन सुरु गरेको हो । तथ्याङ्क लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले जानकारी दिए । उनका अनुसार कृषि उत्पादन, पशुपालन, लागत, बजारीकरण, आम्दानी, सिँचाइ, पूर्वाधारको अवस्थालगायत विस्तृत विषयवस्तुलाई तथ्याङ्क सङ्कलन गरिने छ ।
गणकले किसानसँग प्रत्यक्ष भेटेर कृषि सर्वेक्षण गरिरहेका छन् । नमूना विधिका माध्यमबाट सङ्कलन गरिने तथ्याङ्कमा पहिलो चरणमा छ लाख किसान छनोट गरिने रेग्मीले जानकारी दिनुभयो । तीमध्येबाट ५१ हजार किसान छनोट गरी कृषि क्षेत्रमा उनीहरूको अनुभव तथा सरकारबाट प्रवाह गरिएका सेवा, सहुलियतमा लक्षित वर्गको पहुँच तथा समस्या पहिचान गरी आधिकारिक तथ्याङ्क सङ्कलन गरिने छ ।राष्ट्रिय जनगणना र कृषि गणनापछिको महत्त्वपूर्ण राष्ट्रियस्तरको कार्यक्रमका रूपमा कृषि सर्वेक्षणलाई लिइएको छ । देशभर तथ्याङ्क सङ्कलन भएपछि त्यसलाई थप अध्ययन गरी अन्तिम परिणाम आगामी पुससम्म सार्वजनिक गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सर्वेक्षण तथा तथ्याङ्क सङ्कलनका लागि स्थानीय तहमा क्षमता अभिवृद्धि गर्न तालिम तथा आवश्यक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । कृषि नीति तथा योजना तर्जुमा गर्न वैज्ञानिक आधार तयार पार्न तथ्याङ्क महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






