सन्देश श्रेष्ठ
पोखरा, मंसिर १२
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजयबहादुर स्वाँरले आगामी चुनावमा यातायात व्यवसायीका एजेण्डा समेट्न दवाब दिने बताएका छन् । पोखराको स्थानिय यातायात प्रालिको छैटौं साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै उनले यातायात व्यवसायीलाई प्रयोग गरेर राजनीतिक दलहरुले दुनो सोझ्याएको तर यातायात व्यवसायीका समस्या समाधानका लागि भने काम नगरेको बताए । त्यसैले आगामी निर्वाचनमा पहिल्यै एजेण्डा बनाउन दवाब दिने उनको भनाई थियो । हरेक व्यक्ति पार्टीमा जाने र उम्मेदवार बन्ने कुरा पनि हुँदैन र त्यो सम्भव पनि छैन,उनले भने,‘त्यसैले हामी हरेक पार्टीको घोषणा पत्रमा हाम्रो एजेण्डा राख्न दवाब दिन्छौं ।’ उनले जनताको भीड हेरेर नभई कानूनी रुपमा, नीतिगत रुपमा सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गरिनुपर्ने बताए । दलहरुले यातायात क्षेत्रलाई व्यवस्थापनका रुपमा मात्र हेरेको तर व्यवसायीक बनाउन भने नसोंचेको उनको आरोप थियो ।
अध्यक्ष स्वाँरले जेनजी आन्दोलन दल र सरकारबिरुद्द मात्र नभई यातायात क्षेत्रमा भएको विकृति र विसंगतीबिरुद्द पनि रहेकाले यातायात व्यवसायीहरु पनि सुध्रिनुपर्ने बताए । जेनजी आन्दोलन सरकार र पार्टी बिरुद्द मात्र थिएन,उनले अगाडि भने,‘हामी बिरुद्द पनि थियो । सार्वजनिक यातायातका क्षेत्रमा देखिएका विकृति, विसंगतीबिरुद्द पनि थियो । सार्वजनिक यातायातलाई नागरिकमैत्री बनाउन, यातायातलाई व्यवस्थित र मर्यादित बनाउ भन्ने पनि थियो ।’
महासंघका एक नम्बर बरिष्ठ उपाध्यक्ष पून्यप्रसाद सिटौला (सरोज)ले आगामी चुनावमा दलहरुले यातायात क्षेत्रलाई नजरअन्दाज गरे त्यसको परिणाम नराम्रो हुने चेतावनी दिए । सम्बन्धित क्षेत्रको व्यक्ति उच्च ओहोदामा पुगेमात्र सो क्षेत्र सबलीकरण हुने भएकाले पार्टी र सरकारमा यातायात क्षेत्रकालाई पनि समेट्नुपर्ने भन्दै उनले भने,‘आगामी चुनावमा पनि हाम्रो यातायात क्षेत्रकालाई दलहरुले उम्मेदवार बनाउनु पर्छ । यदि नजरअन्दाज गरियो भने हामी देखाईदिन्छौं ।’ उनले दलहरुले आफूहरुले भनेजस्तो उम्मेदवार नबनाए के देखाउने हो भन्ने बारेमा भने थप केहि बताएनन् । उनले सार्वजनिक यातायात ऐन ल्याउन यसअघिका सरकारले आनाकानी गरेको बताए । तर वर्तमान जेनजी सरकारले त्यसलाई ल्याउने वचन दिएको भन्दै उनले भने,‘यो जेनजी सरकार हुँदा पनि आएन भने कहिल्यै आउँदैन ।’
महासंघका द्वितीय बरिष्ठ उपाध्यक्ष तथा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले महासंघका नेताहरु कुर्सीका लागि मरिहत्ते गर्ने तर सार्वजनिक यातायातका समस्या समाधानमा भने गम्भीर नहुँदा समस्या ज्यूँका त्यूँ रहेको आरोप लगाए । पदमा जानेहरुले काम गर्नुपर्ने उनको भनाई थियो ।
स्थानिय यातायात प्रालिका अध्यक्ष केदार पौडेलले सार्वजनिक यातायात ऐन नया नआउँदा यातायात व्यवसायीले शास्ती भोग्नुपरेको बताए । उनले समिति हुँदा भएको आफ्नै सम्पती पनि आफ्नो नाममा ल्याउन नपाउनु विडम्वना भएको बताए ।
महासंघका केन्द्रीय सचिव भानुभक्त बराल, कास्की अध्यक्ष योगेन्द्रबहादुर केसी, मजदुर नेता तीलक विश्वकर्मालगायतले यातायात क्षेत्रका समस्या समाधानका लागि नेतृत्वले पहलकदमी लिनुपर्नेमा जोड दिएका थिए । नेतृत्व कमजोर हुँदा व्यवसायी मारमा परेको उनीहरुको गुनासो थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज ९ नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा…







