सन्देश श्रेष्ठ
पोखरा, मंसिर १५
नेपाल मणिपाल शिक्षण अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक आगामी पर्सी बुधबारदेखि शुरु हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल मणिपाल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा हुने मेला मंसिर १७ गते बुधबारदेखि शुरु भएर मंसिर २१ गते समापन हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।
मेलामा १०४ वटा स्टलहरु रहने उनले बताए । उनका अनुसार डोममा ७४ वटा र डोम बाहिरको खुल्ला स्थलमा थप ३० वटा स्टलहरु रहनेछन् । डोम भित्र सूचना प्रविधि सम्बन्धि स्टलहरु रहनेछन् भने बाहिर औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका स्टलहरु रहने जनाइएको छ । स्टल निर्माणको काम लगभग सम्पन्न भएको अध्यक्ष कार्कीले बताए ।
मेलाको अवसरमा यसअघिजस्तो सांगीतिक तथा सांस्कृतिक कार्यक्रम कम हुने भएको छ । तर त्यस समयमा सांस्कृतिक कार्यक्रमसँगै उद्यमशिलता सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने अध्यक्ष कार्कीले बताए । ‘हामीले मेलालाई रमाईलो भन्दा पनि उद्देश्य अनुरुप अधिकतम रुपमा उद्यमशिलता विकास र व्यापार प्रवद्र्दनलाई जोड दिएका छौं’—उनले भने । अध्यक्ष कार्कीले जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउन, उद्योगी÷व्यवसायीको मनोवल बढाउन तथा लगानीका नयाँ सम्भावनाको खोजी गर्न पनि मेलाले योगदान गर्ने बताए ।
‘लगानीको सम्वद्र्धन ः उद्योग–व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ हुने मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवद्र्धन तथा प्रचार–प्रसार, पोखराको पर्यटन र व्यापार प्रवद्र्धनका रुपमा सञ्चालन गर्न लागिएको कार्कीको भनाई छ । उनले मेलालाई उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष जोड्ने थलो बनाउने, पोखरासहित सम्पूर्ण राष्ट्रकै कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यमा समर्पित गरिएको प्रष्ट्याए ।
अध्यक्ष कार्कीले पोखरा उद्योग वाणिज्य संघले अगाडि सारेको पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहर बनाउने अभियानसँग मणिपालको उद्देश्य मिलेकोले मणिपाल शिक्षण अस्पतालसँग सहकार्य गरिएको बताए । ४० को दशकमै पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहरको रुपमा परिकल्पना गरेको स्मरण गर्दै उनले भने,‘ पोखराको भौगोलिक अवस्थिति र हावापानी स्वास्थ्य पर्यटनका निम्ति उचित रहेको यसबाट हामीले मनग्य विदेशी मुद्रा आर्जन अनि रोजगारी सिर्जना गर्न सक्छौँ भन्ने पुष्टि हुँदै गएको छ ।’ उनले पोखराको हावापानी उपयुक्त भएकाले यहाँ चिकित्सा र वेलनेस सेन्टरहरु सञ्चालन गरेर पोखराको पर्यटनलाई गुल्जार बनाउन सम्भव रहेको र त्यसको एउटा रोलमोडल मणिपाल शिक्षण अस्पताल रहेकाले पनि सहकार्य सम्भव भएको उल्लेख गरे ।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा मणिपाल शिक्षण अस्पतालका निर्देशक कृष्णमोहन श्रेष्ठले पोखरालाई स्वास्थ्यको हब बनाएर पर्यटन प्रवद्र्दन गर्न सकिने बताए । उपचार र शिक्षाको गन्तव्य मणिपाल रहेकाले यसको सदूपयोग गरेर चिकित्सा र आरोग्यको केन्द्र पोखरा बनाउन सकिने उल्लेख गरे ।
क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत् सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय आएका नयाँ प्रविधिबारे जानकारी गराईने बताए । कार्यक्रममा नया नया प्रविधिबारे जानकारी, साइबर सुरक्षाबारे सचेतना फैलाउनेलगायतका कार्यक्रम समावेश गरिने उनको भनाई छ ।
मेला यस वर्ष निःशुल्क रुपमा अवलोकन गर्न पाईने भएको छ । यसअघिका वर्षहरुमा मेला अवलोकनका लागि टिकट व्यवस्था गरिए पनि यस वर्ष निःशुल्क गरिएको हो । विद्यार्थीदेखि अभिभावक, कृषक तथा सर्वसाधारण सबैले अवलोकन गर्न पाउन् भनेर मेला निःशुल्क गरिएको अध्यक्ष कार्कीले बताए ।
महासचिव शोभा गौतमले संचालन गरेको पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले धन्यवाद ज्ञापन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवेन्द्र–भगवान स्मृति छात्रवृति अक्षयकोषका लागि रकम हस्तान्तरण गरिएको छ । पोखराको बाटुलेचौरस्थित…







