रूपा गाउँपालिका–६ मोहोरियास्थित कौशिला देवी मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएसँगै धान्य तथा मंसिर पूर्णिमाको अवसर पारेर विशेष समारोहका बीच मन्दिरको उद्घाटन गरिएको छ।
कौशिला देवी पुनःनिर्माण समितिका अध्यक्ष गेश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजसेवी क्याप्टेन चन्द्रजंग गुरुङले रिबन काटी मन्दिरको औपचारिक उद्घाटन गरे। कार्यक्रमका विशेष अतिथि यूके निवासी तथा मन्दिरका पूर्व पुजारी रुद्र घोताने रहेका थिए।
समितिका कोषाध्यक्ष होट बहादुर गुरुङका अनुसार देश–विदेशमा रहेका मोहोरिया गाउँका स्थायी बासिन्दा तथा चेली–बेटीबाट संकलित रकममार्फत कौशिला देवी र भयार थान मन्दिर, जमिन सम्याउने, रेलिङ निर्माण तथा मैला (परिक्रमा मार्ग) निर्माणका कामहरु सम्पन्न भएका छन्। स्व. पाइलट चेत बहादुर गुरुङको स्मृतिमा उनकी धर्मपत्नी पुनम गुरुङले मन्दिरको मुख्य मूर्ति अर्पण गरेकी थिइन् भने दुवै मन्दिरका गजुर मन बहादुर गुरुङले प्रदान गरेका थिए। समितिका अनुसार मन्दिर निर्माणका लागि हालसम्म ५१ लाख रुपैयाँ संकलन भइसकेकोमा ४३ लाख खर्च भएको छ।
मन्दिरको इतिहासबारे जानकारी दिंदै बेल बहादुर गुरुङले बाजे–बराजुको पालादेखि नै मन्दिर रहेको र यहाँ गरिने भाकलले मनोकामना पूरा हुने विश्वास रहेको बताए। पहिलेदेखि मुखियामार्फत बाख्राको भोगदिन रहने परम्परा भए पनि अहिले समितिमार्फत पूजाआजाका गतिविधि सञ्चालन हुने गरेको उल्लेख गरे।
वक्ताहरूले कौशिला देवी मन्दिर विदेश–देशमा रहेका गाउँलेहरूको एकता तथा पहिचानको प्रतीक भएकाले यसको संरक्षण र प्रवर्द्धन सबैको सामूहिक दायित्व भएको बताएका थिए।
विशेष अतिथि घोतानेले विदेशमा रहे पनि गाउँप्रतिको माया सधैं कायम रहने उल्लेख गर्दै क्यान्सर पीडित प्रेम गुरुङका लागि यूकेमा संकलित २ लाख रुपैयाँ, साथै गाउँको आमा समूह, बाबा समूह र क्लबका लागि १०/१० हजार सहायता रकम वितरण गरे।
मोहोरिया थाकथलो भई हाल विभिन्न स्थानमा बसोबास गर्ने व्यक्तित्व तथा छिमेकी गाउँका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा मन्दिर निर्माणका सहयोगीलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रम सञ्चालन संस्थाका सचिव रोशन गुरुङले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






