एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०८२ मा प्रकाशित




नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले प्रतिनिधिहरुको विवरण अध्यावधिक गरिरहेको जनाइएको छ । विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन् । मनोनितसहित प्रतिनिधिको सङ्ख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिए ।

बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य सहभागी हुने पाउने हुँदा प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा दुई हजार ६१३ सहभागी हुनेछन् ।तत्कालिन नेकपा एसलाई लक्षित गरेर एमालेले सुरु गरेको ‘घरफर्क अभियान’बाट आउने मध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन्। उनीहरुको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने विभागले जनाएको छ। ती सबैका लागि यही मङ्सिर २५ गतेभित्र परिचयपत्र छपाइ सकिने तयारी गरिएको सो पार्टीले जनाएको छ ।

एमालेको यही मंसिर २७ गतेदेखि काठमाडौँमा हुन लागेको ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलै बनाएर आगामी नेतृत्वको लागि प्रतिस्पर्धा गर्ने तयारी अघि बढाएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।