आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा : सेमीफाइनल समिकरण पुरा


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०८२ मा प्रकाशित




पोखरा, २५ मंसिर ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कम्प्लेक्समा जारी आईटीएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–२ को चौथो दिन रोमाञ्चक खेलहरुसँगै सेमीफाइनल समिकरण पुरा भएका छन् ।

सम्पन्न खेलमा नेपाली गल्र्सतर्फ शिभाली गुरूङ बाहेक अन्य खेलाडीहरु सेमीफाइनलमा स्थान बनाउनबाट चुकेका छन् । जारी दोस्रो सर्किटमा समेत सिभालीले डबल्सतर्फ समेत उपाधि भिडन्त पक्का गरेकी छन् ।

ब्वाइज सिंगल्स क्वाटरफाइनलमा टिङ–हो याङ (ताइपेई)ले यांशुओ पान (चीन) लाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

चीनका जियालियाङ गुओले भारतका अर्श कठुरिया लाई ६–४, ६–४ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् भने कोरियाका युल हो जुङले नेपाली खेलाडी प्रणव मानन्धरलाई ६–२, ७–६(४) ले पाखा लगाउँदै अन्तिम चारमा स्थान बनाउन सफल रहे ।

यस्तै श्रीलंकाका गानुका फर्नान्डोले नेपालका करन बहादुर थापा लाई ६–२, ६–२ ले सहजै पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका छन् ।

‘ब्वाइज’ डबल्स सेमिफाइनलमा भारतका प्रतीक शोरण र अनुज अभिजित तसिलदारको जोडीले कोरियाका क्युंगबिन अन र भारतका दक्ष दीपक पाटीलको जोडीलाई ६–३, ६–४ ले हराउँदै फाइनलमा प्रवेश गरेका छन् भने कोरियाली जोडी ह्योजिन हा र युल हो जुङको जोडीले चीनका जियालियाङ गुओ र जुनलिन सुको जोडीलाई टाइव्रेक खेलमा ६–०, ३–६, (१०–७) ले हराउँदै उपाधि भिडन्त पक्का गरेका छन् ।

यता ‘गल्र्स’ सिंगल्स क्वार्टरफाइनलमा खेलमा नेपाली सिभाली गुरूङले पोखराको टेनिस कोर्टमा आफ्नो लयलाई कायम राख्दै सेमीफाइनलको यात्रा तय गरेकी छन् । उनले भारतकी जान्हवी ताम्मिनीडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै सशक्त प्रदर्शनका साथ अन्तिम चारमा स्थान बनाएकी हुन् ।

त्यस्तै भारतकी कार्तिका पद्मकुमारले ध्रुती गुन्डुलाई ६–२, ६–१ ले हराइन् भने भारतकी शतक्शिका सहायाकले नेपालकी स्वस्तिका बिष्ट लाई १–६, ७–५, ६–३ ले कडा प्रत्युत्तरसहित उल्टो नतिजा निकाल्दै सेमीफाइनलमा स्थान सुरक्षित गरिन् । ताइपेईकी के–चिये सूले नेपालकी सुनिरा थापालाई ६–०, ६–१ ले स्तब्ध पार्दै सेमिफाइनलमा स्थान बनाइन् ।

यता गल्र्स डबल्स सेमीफाइनलमा नेपालकी शिभाली गुरुङ र ताइपेइकी के–चिये सूको जोडी क्यानडाकी नोरा चौधरी र भारतकी जान्हवी ताम्मिनीडी लाई ६–२, ६–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गर्दा भारतकी तेजस्वी मानेनी र न्यूजिल्याण्डकी बोइदेही उकिलको जोडीले नेपालकी स्वस्तिका बिष्ट र अमेरिकाकी नाला जोसेफिन मास्कीको जोडीलाई ६–४, ५–७, १०–५ ले हराउँदै उपाधि भिडन्त तय गरेका छन् ।

मंसिर २७ गतेसम्म दुई साता लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे–३० सर्किट १ र २ मा १६ देशका ८० खेलाडीहरूको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना खेलाडी सहभागी छन् ।

नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश, क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल र हङकङका खेलाडीहरूको सहभागिता रहेको छ ।

१३ देखि १८ वर्ष उमेर समूहका खेलाडीबीच हुने प्रतियोगितामा सिंगल्स विजेताले ३०, उपविजेताले १८, सेमिफाइनलिस्टले ९, क्वार्टरफाइनलिस्टले ५ र प्रि–क्वार्टरफाइनलिस्टले २ अंक प्राप्त गर्नेछन् । त्यसैगरी डबल्सतर्फ विजेताले २५, उपविजेताले १३, सेमिफाइनलिस्टले ६ र क्वार्टरफाइनलिस्टले ३ अंक प्राप्त गर्ने व्यवस्था छ ।

ब्वाइज र गल्र्स सिंगल्स तथा डबल्स गरी चार इभेन्टमा सञ्चालन भइरहेको प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख ८७ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिस संघका सचिव भिष्मराज पौडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।