नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई आज चितवनबाट बिदाइ गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुबै हात्तीलाई आज एक समारोहकाबीच बसोबासस्थलबाट बिदाइ गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।दुबै हात्तीलाई चितवनबाट ट्रकमा भैरहवा अन्तरराष्ट्रिय विमानस्थलमा पुर्याएर त्यहाँबाट आगामी पुस २ गते कतार यएरवेजको चार्टर फ्लाइटबाट सिधैँ कतार लगिने तयारी रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले जानकारी दिए । हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानी समेतलाई मध्यनजर गरी हात्तीलाई भैरहवाबाट हस्तान्तरण गर्न लागिएको हो ।
आगामी पुस २ गते बिहान गते भैरहवामा नेपाल सरकारले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्ने जनाएको छ । नेपालले अन्य विभिन्न मुलुकलाई गैँडा उपहार दिएको भए पनि हात्ती दिन लागिएको यो पहिलो पटक हो ।
विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले हात्ती कतार पठाउने प्रक्रिया लगभग पूरा भएको जानकारी दिए । उनका अनुसार पठाउन लागेकामध्ये खगेन्द्रप्रसाद भन्ने भाले हात्ती छ वर्षको र रुद्रकली भन्ने पोथी हात्ती सात वर्षका छन् । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिक केन्द्र खोरसोरमा जन्मेका दुबै हात्ती त्यही हुर्काइएका हुन् । विसं २०८१ साल वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने जनाएको थियो ।
नेपालले साइटिसलगायतका प्रक्रिया पूरा गरी २०८१ साल कात्तिक २ गते मन्त्रिपरिषद्बाट एक जोडी हात्ती उपहारस्वरूप प्रदान गर्ने निर्णय गरेको थियो ।कतारमा हात्ती हुर्काउनका लागि हात्तीसँगै नेपालले एक जना भेटनरियन प्राविधिक र दुई जना माउतेसमेत एक महिनाका लागि पठाउन लागेको वरिष्ठ इकोलोजिष्ट आचार्यले बताए । उनीहरू एक महिनामा हात्ती हुर्काउने तरिका सिकाएर फर्कने छन् ।
कतारमा हात्तीको रहनसहन, आहार र हावापानी अनुकूलनका बारेमा नेपालबाट प्राविधिक टोली यसअघि नै पुगेर स्थलगत अध्ययन गरिसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा पन्तले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






