बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरेपछि बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ ।
जेनजी प्रदर्सनका क्रममा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले गत असोज १ गते लिखित राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो । रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलले दाबी गरेपछि विगत चार महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन । तत्काल बैठक बस्ने कुनै सूचनासमेत नआएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताए ।
“हामीले बैठकको सबै तयारी गरिसकेका छौँ, तर अहिलेसम्म सरकारबाट बैठकको कुनै सूचना आइपुगेको छैन”, सचिव पौडेलले भने, “बैठकको सूचना आउनासाथ हामी त्यसमा जुट्छौँ ।” गत कात्तिकको दोस्रो साता नै प्रदेशसभाको बैठक बोलाउने तयारी भएको थियो, त्यसका लागि अस्थायी रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको मुख्यमन्त्री सभाहललाई मर्मतसम्भार र रङरोगन गरी तयार पार्यौँ, तर बैठक नै आह्वान हुन सकेन उनले भने ।अहिलेसम्म प्रदेशसभा बैठकका लागि सरकारबाट कुनै जानकारी नआएकाले बैठक निश्चित नभएको सचिव पौडेलको भनाइ छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही मङ्सिर ३ गते रातिबाट प्रदेशसभाको अधिवेशन अन्त्य गरेका थिए । तर रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलबीच सहमति नहँुदा सरकारले बैठक नबोलाएको हुनसक्ने सचिव पौडेलको अनुमान छ ।
प्रदेशसभाको बैठक बोलाएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसैले सत्तारुढ दलबीच सभामुखमा सहमति नजुटेसम्म प्रदेशसभाको बैठक नबोलाउने रणनीतिमा सरकार रहेको सचिव पौडेलले बताए । सभामुखमा कांग्रेस र एमाले दुवै दलले दाबी गर्दै आएका छन् । कांग्रेसबाट मुख्यमन्त्री भएकाले सभामुखमा आफ्नो पार्टीको दाबी स्वाभाविक भएको एमाले संसदीय दलका प्रमुख सचेतक एकलाल श्रेष्ठले बताए । यता कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक पुकार महर्जनले सत्तारुढ दलहरूबीच सभामुख पदमा आआफ्नै दाबी रहेकाले सहमति हुन नसकेको बताए ।
यस विषयमा सत्तारुढ दलबीच छलफल भइरहेकाले अब छिट्टै सहमति भएर प्रदेशसभाको बैठक बोलाइने प्रयास भइरहेको उनको कथन छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






