कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप


     एभरेस्ट आवाज    
     पौष ११ गते २०८२ मा प्रकाशित




आसन्न निर्वाचनका लागि कास्कीमा १७ हजारभन्दा बढी मतदाता थप भएका छन् ।

यसअघिको निर्वाचनमा कास्कीमा दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा आसन्न निर्वाचनका लागि थप १७ हजार ८४२ जनाले नयाँ मतदाता नामावलीका लागि आवेदन दिएका हुन् । जिल्ला निर्वाचन कार्यालयले नयाँ मतदाताका लागि गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म आवेदन माग गरेकामा उक्त सङ्ख्याका मतदाताले आवेदन दिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । नयाँ मतदाता नामावलीका सम्बन्धमा कार्यालयले थप अध्ययन गरिरहेको उल्लेख गर्दै उनले शीघ्र अन्तिम नामावली प्रकाशन गरिने बताए ।

जिल्लामा निर्वाचनका लागि १५३ मतदानस्थल तय भइसकेका जानकारी दिँदै सूचना अधिकारी न्यौपानेले यसअघिको निर्वाचनमा १५० निर्वाचनस्थल रहेका बताए । उनका अनुसार अन्तिम मतदाता नामावाली तय भएपछि मात्रै मतदान केन्द्रहरूबारे टुङ्गो लाग्नेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।