पोखरा सडक महोत्सवमा आज स्वप्न सुमन र केहर लिम्बु गुञ्जिदै,भोलि एक्स नेपथ्य, उज्जन शाक्यदेखि डि-मर्चासम्म गुञ्जिने

- भाईरल डान्सर आस्मा विश्वकर्माको छिकिरी, छिकिरी डान्स भोलि बेलुका


     एभरेस्ट आवाज    
     पौष १५ गते २०८२ मा प्रकाशित




पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा आज चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिदै छन् । तमु समुदायको महान पर्व ल्होसारको दिन भएकाले आज दिउँसो ल्होसार विशेष कार्यक्रम चलिरहेको छ । आज साँझ भने लाईभ व्याण्ड गुञ्जिेनछ । आज दिउँसो विविध सांस्कृतिक कार्यक्रम तथा रोँधी कार्यक्रम चलिरहेको अलटेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।

साँझमा भने लाईभ व्याण्ड प्रस्तुतीमार्फत स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । भने केहर एण्ड द लुङ्गाले सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनालगायतका गीतहरु गुञ्जाउने छन् । त्यसअघि भोलि चक्र व्याण्ड, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको पनि प्रस्तुती रहनेछ । दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए ।

रेवान पोखराको आयोजनामा जारी सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा अल टेक नेपालको संयोजनमा सांगीतिक उत्सव चलिरहेको छ । जहाँ भोलि न्यू ईयर ईभमा एक्स नेपथ्य तीन दशकपछि गुञ्जिनेछ । न्यू ईयर ईभ विशेष कार्यक्रमको दिन पुस १६ गते भोलि बेलुका एक्स नेपथ्यका रविन श्रेष्ठ र गौतम गुरुङले विशेष प्रस्तुती दिने अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । कार्यक्रममा रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु तथा अर्का गायक गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित प्रस्तुत गर्नेछन् ।

भोलि न्यू ईयर ईभ विशेषमा उज्जन शाक्यले पनि लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । जहाँ उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्कलगायतका गीतहरु गुञ्जाउने गुरुङले बताए । त्यस्तै, डिमर्चा, लेकाली, देउराली व्याण्डको पनि भोलि लाईभ प्रस्तुती रहने उनले बताए । उनका अनुसार न्यू ईयर ईभ स्पेसलका रुपमा यस वर्ष कार्टुन क्रुजकी भाइरल डान्सर आस्मा विश्वकर्मा र सरोज अधिकारीले छिकिरी, छिकिरीलगायतका गीतहरुमा प्रस्तुती दिनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।