श्रद्धा र भक्तिपूर्वक माघे संक्रान्ति र माघी पर्व मनाईयो


     एभरेस्ट आवाज    
     माघ १ गते २०८२ मा प्रकाशित




प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज स्नान, जप, तप, ध्यान, साधना तथा दान गरी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँएको छ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दियो। माघ १ गतेदेखि उत्तरायण सुरु हुने विश्वास गरिन्छ, जसका कारण दिन क्रमशः लामा र रात छोटा हुँदै जान्छन्। आज पोखराको रामघाट सेती नदी,देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका तीर्थस्थलहरूमा माघ स्नान गर्न भक्तजनको घुइँचो लाग्यो। तीर्थस्थलहरूमा विशेष मेला समेत आयोजना गरिएको छ।

पोखराको ढुङ्गेसाँघुमा माघे सक्रान्ति मेला लाग्यो । परम्पराबाटै मेला लाग्ने गरेको उक्त स्थलमा विविध खेलकुदका कार्यक्रम आयोजना गरिएको थियो । मेलामा स्थानीय उत्पादन बेच्ने र किन्नेको दिनभरी नै भीड लागेको थियो । त्यस्तै पोखरा १६ को रञ्जित गाउँ अर्मलामा नौ धारे सिद्ध बराह युवा क्लवले माघे सक्रान्ति मेला सम्पन्न गरेको छ । २ दिनसम्म संचालन भएको मेलामा स्थानीय कलाकारको विविध सांस्कृतिक प्रस्तुती सहित छेलो हान्ने तथा भलिवल प्रतियोगिता गरिएको लक्षु गुरुङले जानकारी दिए ।तराई क्षेत्रमा माघ १ गतेलाई ‘नहान’ अर्थात् स्नान पर्वका रूपमा मनाउने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार आज बिहान तीर्थस्थलमा स्नान गरी तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने मान्यता छ।

थारु समुदायको मुख्य पर्व माघी काठमाडौंमा पनि मनाइएको छ । काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायले आफ्नो साँस्कृतिक मान्यताअनुसार माघी पर्व मनाएका हुन् ।थारु समुदायले काठमाडौँको टुँडिखेललगायत ठाउँमा सांस्कृतिक भेषभूषा प्रदर्शनीसँगै माघी पर्व मनाए ।माघे सङ्‍क्रान्ति पर्वका अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका मगरहरूले सांस्कृतिक ¥याली निकालेका छन् । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र विभिन्न संघसंस्थाको अगुवाइमा काठमाडौंमा उपत्यकामा बस्दै आएका मगरहरूले बिहीबार भृकुटीमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक ¥याली निकालेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।