सन्देश श्रेष्ठ
पोखरा, माघ १
पोखरामा विहीबार ढुंगेसाँघु मेला धुमधामका साथ लागेको छ । धार्मिक आस्थाको धरोहर गण्डकीमा मकर सक्रान्तीको स्नान गर्ने र कन्दमूल तरकारीको प्रदर्शन गर्ने परम्परागत धार्मिक मेला माघ १ गते विहीबार पोखरा–१७ ढुंगेसाँघुमा लागेको हो । मेलामा दशौं हजारको भीड लागेको थियो । जहाँ माघे सक्रान्तिको अवसरमा खाईने घर तरुल, वन तरुलदेखि भ्याकुर, गिठा, सखरखण्डलगायतका कन्दमूल तथा तरुलहरु बेच्नका लागि राखिएको थियो । त्यस्तै, परम्परागत रुपमा प्रयोग हुने हातहतियारहरु दाउ, खुकुरी, डोको, नाम्लो, नाङ्लो, भकारीदेखि लत्ताकपडासम्म, अनि खानेकुराका विभिन्न परिकारहरुले दर्शक तथा भक्तजनहरुलाई आकर्षित गरेको थियो । परम्परागत बाजागाजाले दर्शकको ध्यान तानेको थियो भने वरीपरीका क्षेत्रमा आयोजित खेलकुद प्रतियोगिताले मेलामा आकर्षण थपेको थियो ।

ढुंगेसाँघुको मेलाको अवसरमा विहीबार पोखरा महानगर स्तरीय चौथो बृहद कन्दमुल (घरतरुल, वन तरुल, गिठा भ्याकुर, सिमल तरुल तथा सखरखण्ड प्रदर्शनी प्रतियोगिता आयोजना गरिएको थियो । जसमा १७ प्रकारका तरुल तथा गिठा, भ्याकुरका प्रजाति ल्याएका पोखरा–१७ महतगौंडाका शंकर आचार्य प्रथम भए । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र कृषि महाशाखा तथा पोखरा वडा नम्बर–१७ को आयोजनामा भएको प्रतियोगितामा पोखरा–२२ का प्रदीप ढकाल द्वितीय, पोखरा–२२ कै देवीलाल बराल तृतीय तथा पोखरा–२१ का गणेशप्रसाद पराजुली, पोखरा–२३ का उपेन्द्रप्रसाद पराजुली र पोखरा–१७ का मात्रिकाप्रसाद भण्डारीले सान्त्वाना स्थान प्राप्त गरे । प्रथम हुने आचार्यले ५ हजार, द्वितीय हुने ढकालले ३ हजार, तृतीय हुने बरालले २ हजार र सान्त्वना स्थान प्राप्त गर्ने तीन जनाले एक/एक हजार प्राप्त गरे ।

बिजयीहरुलाई पोखरा–१७ की अध्यक्ष राधिका शाही योगी, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियालगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै पोखरा–१७ की अध्यक्ष राधिका शाही योगीले कन्दमूल स्वास्थ्यको लागि महत्वपूर्ण भएको र किसानका लागि अर्थोपार्जनका लागि माध्यम भएको बताईन् ।
आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले उत्पादक किसानलाई हौषला प्रदान गर्न र उत्पादित वस्तुको बजारीकरणमा सघाउन कार्यक्रम आयोजना गरिएको बताए । त्यतिमात्र होईन उत्पादित वस्तु सुलभ मूल्यमा उपभोक्ताले पाउने स्थिति निर्माणमा पनि यसले भूमिका खेलेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल प्रिमियर लिग एनपीएलका सम्पूर्ण खेल पोखराको मालेपाटन खेल मैदानमा निःशुल्क प्रत्यक्ष…







