एमाले केन्द्रीय कार्यालयमा जिल्ला तहबाट उम्मेदवारको नाम प्राप्त


     एभरेस्ट आवाज    
     माघ २ गते २०८२ मा प्रकाशित




नेकपा एमाले केन्द्रीय कार्यालयले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तल्लो तहबाट आकाङ्क्षी उम्मेदवारको सिफारिस नाम प्राप्त गरेको छ ।

जिल्ला हुँदै प्रदेश कमिटीले निर्वाचनका लागि पठाएको नाममा केन्द्रीय कार्यालयलाई प्राप्त भएको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए । उनले चाँडै नै निर्वाचन लागि प्राप्त भएका उम्मेदवारका विषयमा टुङ्गो लगाइने बताए । “सबै जिल्ला हुँदै प्रदेश कमिटीबाट आगामी निर्वाचनका लागि उम्मेदवारका नाम आएका छन्”, उनले भने, “कुनै निर्वाचन क्षेत्रबाट एकल र कुनैबाट एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस भई आएका छन्, हामीले चाँडै नै निर्वाचन क्षेत्रबाट उठ्ने उम्मेदवारको नाम टुङ्गो लगाउँछौँ ।”

एमालेले कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । कुनैकुनै निर्वाचन क्षेत्रबाट तीनभन्दा पनि बढी उम्मेदवारको नाम जिल्ला कमिटीले सिफारिस गरी पठाएका उनको भनाइ रहेको छ । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका रहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।