स्पेनमा पाँच महिना अघि भएको सडक दुर्घटनामा परि दिवंगत भएका भोजपुर निवासी स्व.पदम घिमिरेको परिवारको सहयोगका लागि नेपाली समाज दोनोस्ती पाइसभास्कोको पहलमा संकलन गरिएको आर्थिक सहयोग रकम सहयोग गरिएको छ ।
सन् २०२५ अगस्ट २६ तारिख स्पेनको आलबाथेते क्षेत्रमा भएको सडक दुर्घटनामा परि पदम घिमिरेको निधन भएपछि उहाँको परिवार आर्थिक रूपमा निकै कठिन अवस्थामा पुगेको छ । यही अवस्थालाई मध्यनजर गर्दै दोनोस्ती समाजले आर्थिक संकलन अभियान सञ्चालन गरेको थियो।संकलित रकममध्ये नेपाली रुपैयाँ १ लाख ४ हजार ४५ रुपैयाँ स्व. घिमिरेकी आमा टिका (सिता) कुमारी घिमिरेको नाममा समाजका अध्यक्ष अशोक रुम्बा लामाले बैंक खातामार्फत जम्मा गरिदिनु भएको हो।
सहयोग प्राप्त गरेपछि पदमकी आमा सिता कुमारी घिमिरेले नेपाली समाज दोनोस्ती परिवारप्रति विशेष धन्यवाद व्यक्त गर्दै सहयोग अभियानमा जुट्ने सबैप्रति आभार प्रकट गरिन् । “सात समुद्रपारि रहे पनि नेपालीको दुःखमा यसरी साथ दिनु अत्यन्तै उदाहरणीय कार्य हो,” उनले भावुक हुँदै भनिन्। उनका अनुसार पदम घिमिरेका पिता विगत एक दशकदेखि बिरामी छन् । पछिल्ला चार वर्षयता उनको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको र हाल अक्सिजनको सहायतामा घरमै उपचार तथा स्याहार आवश्यक रहेको छ । समय–समयमा चिकित्सक घरमै पुगेर उपचार गर्दै आएका छन् । दुई छोरामध्ये एकलाई विदेशमै गुमाउनु परे पनि अर्को छोराको साथमा यस्तै सहयोगी हातबाट श्रीमानको औषधोपचार भइरहेको उनले बताईन् ।
नेपाली समाज दोनोस्ती पाइसभास्कोका अध्यक्ष अशोक रुम्बा लामाले विदेशमा बसेर नेपालीहरूले दिनको ८–१० घण्टा श्रम गरेर आर्जन गरेको आम्दानीको केही अंश नेपालमा दुःखमा परेका नेपाली परिवारलाई सहयोग गर्नु नै आफ्नो कर्तव्य भएको बताए । “यस्ता मानवीय अभियानले समाजमा एकता र सहानुभूतिको भावना अझ बलियो बनाउँछ,” उनले भने। उक्त सहयोग संकलन अभियानमा जुट्नुहुने प्रति अध्यक्ष लामाले धन्यवाद सहित हार्दिक आभार व्यक्त गरे ।
सडक दुर्घटनामा ज्यान गुमाएका पदम घिमिरेको परिवारलाई दोनोस्ती समाजबाट गरिएको यो सहयोगलाई मानवीय संवेदनशीलता र प्रवासी नेपालीको सामाजिक उत्तरदायित्वको उदाहरणीय कार्यका रूपमा लिइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





