सन्देश श्रेष्ठ
पोखरा, माघ ८
पोखरामा भोलिदेखि टाईगर कप भलिबल प्रतियोगिता शुरु हुँदैछ । टाईगर ग्रुप अफ नेपालको आयोजनामा भोलिदेखि ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको छैटौं संस्करण शुरु हुने भएको हो । माघ १७ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको आयोजक टाईगर ग्रुप अफ नेपालले आज पोखरा रंगशालामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिताको भोलि दिउँसो १ः३० बजे गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्ने आयोजक टाईगर ग्रुप अफ नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।
एनसेलको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । यसअघि महिला तथा पुरुष दुबैतर्फ ७/७ टिमले सहभागिता जनाउने भनिए पनि अन्तिम अवस्थामा महिलातर्फ भारत र बुटवलको टिम तथा पुरुषतर्फ भारतको एक टिमले सहभागिता जनाउन असमर्थ भएकाले टिम घटेको अध्यक्ष शर्माले प्रष्ट्याए ।
पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा महिलातर्फ तीन विभागीय टिमहरु नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरीको एीपएफ क्लब तथा टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लब र थाईल्याण्ड क्विन्स थाईल्याण्डले सहभागिता जनाउने उनले जानकारी दिए ।

त्यस्तै, पुरुषतर्फ ३ विभागीय टिमहरु नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब, पर्वत जिल्ला भलिबल संघ र मालदिभ्स भलिबल एशोसियसनले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा भोलि महिलातर्फ न्यू डायमण्ड र त्रिभूवन आर्मी क्लव आमनेसामने हुनेछन् । पुरुषतर्फ भोलि नै त्रिभूवन आर्मीले मालदिभ्स भलिबल एशोसियसनको सामना गर्ने अध्यक्ष शर्माले जानकारी दिए । भोलि नै तेस्रो खेलमा घरेलु टिम गण्डकी प्रदेश भलिबल संघले सशस्त्र प्रहरीको एपीएफ क्लवसँग प्रतिष्पर्धा गर्ने उनले बताए ।
प्रतियोगिताको पुरुष तथा महिला दुबैतर्फको उपाधि बिजेता टिमले जनहि नगद ६ लाख ६६ हजार ६६६, उप–बिजेताले नगद ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले २ लाख ६ हजार ६६६ सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी महिला तथा पुरुषतर्फ दुबैतर्फ सर्वोत्कृष्ट खेलाडीले जनहि नगद २६ हजार ६६६ तथा अन्य महिला तथा पुरुष दुबैतर्फ विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई समान नगद ११ हजार ६६६ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संयोजक राजकुमार गुरुङले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ८० लाख खर्च लाग्ने अनुमान गरिएको कार्यक्रम संयोजक गुरूङले जानकारी दिए ।
प्रतियोगिता अवलोकनका दर्शकले टिकट काट्नुपर्ने सचिव डिबी नेपालीले बताए । उनका अनुसार यस वर्ष सिजनल टिकटको ३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका…







