सन्देश श्रेष्ठ
पोखरा, माघ ११
राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट कांग्रेस–एमालेको संयुक्त गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । राष्ट्रिय सभा सदस्यको दुई सिटका लागि भएको निर्वाचनमा कांग्रेस–एमालेको उम्मेदवारहरु सम्झना देवकोटा र डा.जगत तिमिल्सिना बिजयी भएका हुन् ।
गण्डकीबाट राष्ट्रिय सभा सदस्यमा खुल्ला सदस्यतर्फ डा.तिमिल्सिना र महिला क्लष्टरमा देवकोटा बिजयी भएको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले जनाएको छ । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा खुल्ला र महिला क्लष्टर गरेर एक÷एक सिटका लागि निर्वाचन भएको थियो । जसमा खुल्लातर्फ नेपाली कांग्रेसका डा.जगत तिमिल्सिना बिजयी भएका छन् । उनले प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार कपिल लामालाई ४ हजार ९२३ मतान्तरले पराजित गरे । बिजयी डा.तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गरे भने पराजित लामाले ९ सय ४१ मतभार प्राप्त गरे । अर्का प्रतिष्पर्धी राष्ट्रिय जनमोर्चाका शंकर बरालले ७६ मत प्राप्त गरे ।
महिला क्लष्टरतर्फ एक सदस्यका लागि भएको निर्वाचनमा एमालेकी सम्झना देवकोटा बिजयी भईन् । कांग्रेस–एमालेको संयुक्त गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी उनले प्रतिष्पर्धी नेकपाकी गोमा घिमिरे लुईटेल (रुची)लाई ४ हजार ७३ मतान्तरले पछि पार्दै बिजयी भएकी हुन् । बिजयी देवकोटाले ५ हजार १४ मत प्राप्त गरिन् भने पराजित घिमिरेले ९ सय ४१ मत प्राप्त गरिन् । अर्की प्रतिष्पर्धी राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बास्कोटाले ७६ मत प्राप्त गरिन् ।
गण्डकीमा कांग्रेस–एमाले गठबन्धनको ५ हजार १ सय ५ मतभार रहेकोमा खुल्लातर्फका उम्मेदवार जगत तिमिल्सिनाले ७२ र महिला क्लष्टरकी उम्मेदवार सम्झना देवकोटाले ९१ मतभार कम पाईन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकीबाट दुई पदका लागि आज भएको निर्वाचनमा २२३ मत खसेको थियो । गण्डकीमा कुल २२८ मतदाता रहेकोमा ५ जना अनुपस्थित रहेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ । गण्डकीमा ५९ जना प्रदेश सभा सदस्य रहेकोमा ५७ जनाले मात्रै मतदान गरेका थिए । राप्रपाका दुई जना प्रदेश सभा सदस्यहरु पञ्चराम गुरुङ र विन्दु पौडेल मतदानमा सहभागी भएनन् । खसेको मतमध्ये २ मत बदर भएको पनि प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै, स्थानिय तहतर्फ १६९ जना मतदाता रहेका १०२ जना पुरुष र ६४ जना महिला गरेर कुल १६६ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । मतदानमा स्थानीय तहतर्फ ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, मनाङको नार्पाभूमि गाउँपालिकाका प्रमुख कोन्जो तेन्जिङ लामा र वालिङ नगरपालिकाकी उपमेयर कविता तिवारी सहभागी नभएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






