पोखराको जेठो सामाजिक संस्था पोउवा संघ ७२ औं वर्षमा


     एभरेस्ट आवाज    
     माघ २५ गते २०८२ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघ ७२ औं वर्षमा प्रवेश गरेको छ । २००७ सालको क्रान्तिपछिको चेतनाको जगमा २०११ साल माघ २५ गते पोखराका उद्योगी÷व्यवसायीहरुले अमृतप्रसाद शेरचनको नेतृत्वमा पोखरा व्यापार संघको स्थापना गरेका थिए ।

संघको ७२ औं स्थापना दिवसको अवसरमा आइतबार सचिवालय गैह्रापाटनमा झण्डोत्तोलन गरिएको छ । सो कार्यक्रममा संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनसहित वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य र शुभेच्छुकहरुको सहभागिता रहेको संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।संघका उद्योग उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाका अनुसार संघले चुनावी आचार संहिताका कारण वार्षिकोत्सव केही कार्यक्रमलाई भने थाँती राखेको छ ।यसैबीच भगिनी सम्बन्ध गाँसिएको भक्तपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मानसमेत गरिएको छ ।महासचिव गौतमका अनुसार भक्तपुृरको प्रतिनिधिको सम्मानमा संघले कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिकाको ताङतिङमा सो सम्मान कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा भक्तपुरका नवनिर्वाचित अध्यक्ष कृष्णमुरारी न्यौपानेसहित,पूर्वअध्यक्ष एवं सल्लाहकार शिवप्रसाद मानन्धर, निवर्तमान अध्यष रोशनीमैयाँ धौबन्जासहितको प्रतिनिधिमण्डलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की,निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति,पूर्वअध्यक्षहरु राजेन्द्रकुमार लालचन,कृष्णमोहन श्रेष्ठ,विश्वशंकर पालिखे एवं संघका पदाधिकारी र कार्यसमितिका सदस्यहरुले बधाइ ज्ञापन गरेका थिए ।सांस्कृतिक सहर भक्तपुृरसँगको भगिनी सम्बन्धमार्फत् पोखराको पर्यटन प्रवद्र्धन गर्ने,संस्कृति र सीप हस्तान्तरणमार्फत् पर्यटकीय गतिविधि बढाउने लक्ष्य पोखरा उद्योग वाणिज्य संघको रहेको छ ।

विधिवत् रुपले २०११ सालमा स्थापित भए पनि २००८ सालतिरै पोखराका व्यापारीहरु एकजुट भइसकेका थिए र व्यापार संघको तदर्थ समिति पनि बनेको थियो । २०११ सालमा विधिवत् स्थापना भएपछि चाहिँ तत्कालीन समयको पोखरा व्यापार संघ यहाँको जेठो सामाजिक संस्थाको रुपमा प्रतिस्थापित भयो । यही संघको अगुवाइमा शैक्षिक उन्ननयनको लागि बालमन्दिरदेखि पृथ्वीनारायण क्याम्पससहित दर्जनौं शैक्षिक संस्था,पोखरा विश्वविद्यालयको स्थापना, पृथ्वीनारायण क्याम्पसमा वाणिज्य अनि अर्थशास्त्रको पढाइ हुन थाल्यो । भौतिक निर्माणको अगुवाइ पनि संघबाटै भएको हालका अध्यक्ष गोकर्ण कार्की बताउँछन् । उनका अनुसार संघले पोखराको महेन्द्रपुलदेखि काहुँको धरहरा,पोखरा सभागृहलगायतका संरचना निर्माणमा नेतृत्वदायी भूमिका निभाएको थियो । पोखरालाई शिक्षा,स्वास्थ्य र पर्यटनको सहर बनाउनुपर्छ भन्ने आवाज पहिलोपटक मुखरित गर्ने तथा सोही अनुरुपका कार्यक्रम तय गर्ने श्रेय पनि संघलाई नै जान्छ । २०३१ सालमा पोखरा औद्योगिक क्षेत्र स्थापना भएपछि पोखरा व्यापार संघले आफूलाई पोखरा उद्योग वाणिज्य संघमा रुपान्तरण गरेको थियो । अहिले पोखरा उद्योग वाणिज्य संघमा करिब ३ हजार साधारण सदस्य रहेका छन् । यो निजी क्षेत्रको हक अधिकारको पैरवी गर्ने र खुल्ला अर्थतन्त्रको पक्षमा आवाज उठाउने संस्था भएको अध्यक्ष कार्कीको भनाइ छ ।

‘पोखराले सहरको स्वरुप नलिँदै पोखरा उद्योग वाणिज्य संघ जन्मेको हो । यसका संस्थापक अध्यक्ष नै मुस्ताङमा जन्मेर पोखरालाई कर्मक्षेत्र बनाउनुभएका स्वर्गीय अमृतप्रसाद शेरचन हुनुहुन्छ,’अध्यक्ष कार्की भन्छन्,‘यो संस्था कति समावेशी छ भन्ने दृष्टान्त त्यहीँबाट पुष्टि हुन्छ । पोखरालाई देशका कुनाकुनामा रहेका उद्योगी÷व्यवसायीको आकर्षणको केन्द्र बनाउन हामी निरन्तर लागिरहेका छौँ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।