दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति पौडेल


     एभरेस्ट आवाज    
     माघ २५ गते २०८२ मा प्रकाशित




राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताएका छन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव समारोहको आज उद्घाटन गर्दै यस्तो बताउएका हुन् ।“देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक छ”, राष्ट्रपति पौडेलले भने, “राज्यले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतारेपछि नै राजनीतिक स्थायित्व सम्भव हुने हो भन्ने हामीले बिर्सन हुन्न ।”

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र भएको र हाम्रो राष्ट्रियगानले व्यक्त गरे झैँ नेपाल सयौँ थुङ्गाका फूलहरू मिलेर बनेको सुन्दर फूलबारी भएको उल्लेख गरे । उनले भने, “यस फूलबारीलाई अझ सुन्दर, समुन्नत र सन्तुलित बनाउन सबै जाति, भाषा, संस्कृति र समुदायको समान पहुँच, समान अवसर र समान सम्मान अपरिहार्य हुन्छ । हाम्रो संविधानले निर्दिष्ट गरेको लक्ष्य पनि यही हो ।”

राष्ट्रपति पौडेलले आदिवासी जनजाति समुदायको भाषा, लिपि, संस्कृति, परम्परा, मूल्य–मान्यता, ज्ञान प्रणाली र धार्मिक विश्वासहरू केवल सांस्कृतिक सम्पदा मात्र नभएर ती नेपालको राष्ट्रिय पहिचानका अमूल्य आधारहरू पनि भएको बताउँदै यिनको संरक्षण, संवद्र्धन र समुचित विकासका लागि राज्यले नीतिगत, संस्थागत र संरचनागत रूपमा थप प्रभावकारी भूमिका निर्वाह गर्नु आवश्यक छ भन्ने आफूले ठानेको उल्लेख गरे ।

“आदिवासी ज्ञान प्रणाली केबल परम्परामा सीमित छैनन् । यी सांस्कृतिक पहिचान, वातावरणीय संरक्षण र दिगो विकासका आधारस्तम्भ पनि हुन्छ”, राष्ट्रपति पौडेलको भनाइ थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।