सुकुम्वासीलाई आन्दोलनको सट्टा सहजीकरण समिति बनाउन पोखराका मेयर आचार्यको सुझाव


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुकुम्वासी समस्या समाधानका लागि महानगरपालिका गम्भीर र जिम्मेवार बनेको बताएका छन् ।

पोखरामा रहेका सुकुम्वासीहरूले संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेपछि मेयर आचार्यले व्यवस्थित बसोबासका लागि आन्दोलन र संघर्षका कार्यक्रम छोडेर सहयोग गर्न आग्रह गरे । उनले आन्दोलनको घोषणा गरेका उनीहरुलाई कसैको स्वार्थका लागि मानव ढालको रूपमा प्रयोग नहुन र अनावश्यक उत्तेजनामा नआउन आग्रह गरेका हुन् ।यहाँ रहेका सुकुम्वासीको समस्या समाधानका लागि जिम्मेवार ढंगले काम गरिरहेको भन्दै उनले संघर्ष समितिको सट्टा सहजीकरण समिति गठन गरी आफ्ना माग राख्न अनुरोध गरे ।

मेयर आचार्यले निस्सा प्राप्त गरेका नागरिकहरूको यथार्थ छानबिन गरिने पनि बताए । पछिल्ला केही दिनयता सूचना जारी भएपछि सुकुम्वासी बस्तीलाई मानव ढालका रूपमा प्रयोग गर्ने प्रयाससहित अनावश्यक आवेग सिर्जना गरिएको भन्दै उनले दुःख व्यक्त गरे । यसैबीच सुकुम्वासी बस्तीहरूमा निराशा फैलाउने, महानगरले वितरण गरेको निस्सालाई सेतो पुर्जा भन्दै किनबेच गर्ने, आवास युनिटहरू बेचबिखन गर्ने र एकभन्दा बढी आवास कब्जा गरी भाडामा लगाउने जस्ता गतिविधिप्रति महानगरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उनले सार्वजनिक वा सरकारी जमिन बिना अनुमति भोगचलन गर्ने, भाडा उठाउने वा व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने व्यक्ति तथा संस्थाहरूले तोकिएको समयभित्र स्थान खाली गरी सहयोग गर्नुपर्ने बताए । अटेर गरेमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।महानगरले यसअघि देशभरमै सबैभन्दा छिटो १९ हजार ८ सय ५६ परिवारलाई निस्सा वितरण गरिसकेको जनाएको छ ।

यता पोखरा बसपार्कमा रहेका सुकुम्बासीहरुले वैकल्पिक व्यवस्था नभएसम्म भने कुनै पनि हालतमा ठाउँ खाली नगर्ने अडान राखेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–९ भित्र कुनै पनि ठाउँमा वैकल्पिक व्यवस्था गरे आफूहरु ठाउँ खाली गर्न तयार रहेको भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति जिल्ला समिति कास्कीका अध्यक्ष प्रेम गुरुङले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।