पोखरामा फोहोर फाल्ने ठाउँमा भेटियो बम

- रातोपैह्रा क्षेत्रबाट संकलन गरिएको फोहोरमा भेटिएको थियो बम


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, जेठ २१

पोखरामा फोहोर फाल्ने ठाउँमा बम भेटिएको छ । पोखराका विभिन्न क्षेत्रबाट संकलन गरिएका फोहोर फाल्ने ठाउँ पोखरा–२१ मा बम फेला परेको हो । विहीबार विहान फोहोरको गाडीले झारेको फोहोरमा कवाडी सामान खोज्ने क्रममा रिमा शेर्पाले ३ वटा ग्रिनेट बम भेट्टाएकी थिईन् । लगत्तै प्रहरीलाई खबर गरेपछि अहिले प्रहरीले सो क्षेत्र नियन्त्रणमा लिएको छ ।

पोखरा–१७ रातोपैह्रा, पर्वतीय संग्रहालयलगायतका क्षेत्रबाट संकलन गरिएको फोहोरमा बम भेटिएको पोखरा–२१ की कार्यवाहक वडाध्यक्ष विमला केसीले जानकारी दिईन् । उनका अनुसार पोखरा महानगरपालिकाको फोहोर बोक्ने गाडी ग.१ख.५४३७ नम्बरको गाडीले बोकेको फोहोरमा बम भेटिएको हो । उनले भनिन्,‘रातोपैह्रा वरपरबाट ल्याएको सो गाडीको फोहोरमा कवाडी खोज्दै गर्दा शेर्पा बहिनीले बम भेटेकी रहिछन् ।’ बोरामा भएकाले गाडीमा कसैले नदेखेको बम फोहोर फाल्ने ठाउँमा लगेर खन्याएपछि मात्रै देखिएको हुनसक्ने उनको भनाई छ । फोहोर बोरामा भएकाले त्यहाँ के छ भन्ने कसैलाई थाहा नै भएन,उनले थपिन्,‘खोलेर कवाडी खोज्दा पो बम भेटिएको रहेछ ।’

बम भेट्टाएपछि शेर्पाले ओल्टाईपल्टाई हेर्दै गरेको अवस्थामा सोहि ठाउँमा कार्यरत एस्काभेटर चालकले राख्न लगाएका थिए । लगत्तै गएको वडा प्रहरी कार्यालय बैदामको टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । अहिले बम डिस्पोजल टोलीले बम निस्कृय पार्ने प्रयास गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।