पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउन शुरु


     एभरेस्ट आवाज    
     असार २ गते २०८३ मा प्रकाशित




पोखरा,असार २
पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउन शुरु गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (२३ जुन २०२६)को अवसर पारेर प्रदेश खेलकुद परिषद् गण्डकीमा मंगलबार एक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको सहजिकरण नेशनल ओलम्पिक एकेडेमी, नेपालका अध्यक्ष तेज बहादुर गुरुङले गरेका हुन् ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा एकेडेमीका अध्यक्ष गुरुङले माइन्डफुलनेस मेडिटेशन तथा ओलम्पिक अभियानका विषयमा प्रस्तुतिकरण राख्दै खेलकुद केवल मनोरञ्जन, जित र हारसँग मात्र सम्बन्धित नभई समाज रुपान्तरणको महत्वपूर्ण माध्यम भएको बताए । गुरुङले कार्यक्रममा ओलम्पिकको इतिहास, उत्पत्ति, विकासक्रम तथा अन्तर्राष्ट्रिय एकताको प्रतीकका रूपमा यसको महत्वबारे प्रस्तुतीकरण राखेका थिए । कार्यक्रममा सहभागीहरूलाई ध्यान योगको अभ्याससमेत गराइएको थियो ।
अन्तरक्रियामा प्रदेश खेलकुद परिषद्का पदाधिकारी, सदस्य, विभिन्न प्रदेशस्तरीय खेल संघका पदाधिकारी तथा खेलाडीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा विश्वभरका २०६ राष्ट्रिय ओलम्पिक समितिहरूले विभिन्न खेल गतिविधिमार्फत दिवस मनाइरहेको जानकारी दिए । सोही क्रममा नेपालमा पनि असार २ गतेदेखि ९ गतेसम्म विभिन्न कार्यक्रम आयोजना भइरहेको उनले बताए ।
यसै अवसरमा आगामी शनिबार पोखरा महानगरपालिका वडा नम्बर १ सँगको सहकार्य तथा नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा ५ किलोमिटर सडक दौड प्रतियोगिता र असार ७ गते आइतबार बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने जानकारी अध्यक्ष गुरुङले दिए । नेशनल ओलम्पिक एकेडेमी, नेपालका अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय ओलम्पिक एकेडेमीका कार्यकारी सदस्य हरि प्रसाद पराजुलीले गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।