राजनीतिक दलमा संलग्न हुने रेडक्रसकर्मिलाई अलग हुन नेपाल रेडक्रस सोसाइटीको आग्रह


     एभरेस्ट आवाज    
     असार १८ गते २०८३ मा प्रकाशित




नेपाल रेडक्रस सोसाइटीले कुनै पनि तहकोे समितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दलको भ्रातृ सङ्गठनसमेतको विभिन्न निकायका पदहरूमा बहाल रहेको भए नेपाल रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ ।

नेरेसोमा संलग्न स्वयंसेवक तथा कर्मचारीहरूले रेडक्रसका सिद्धान्त, मूल्य र मान्यता अनुकूल कार्य र व्यवहार गरेको सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटीको विधान २०२० अठारौँ संशोधन २०८२ सहितको दफा ७२ को उपदफा ३ मा ‘सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक सङ्गठन भ्रातृ सङ्गठनसमेत को विभिन्न निकायका पदहरूमा रहेका र राजनीतिक दलबाट सबै तहका शासकीय संरचनामा संलग्न भई पदाधिकारी तथा सदस्य पदमा आसीन व्यक्तिहरू नेपाल रेडक्रस सोसाइटीका कुनै पनि तहका समिति, आयोग र उपसमितिहरूमा सदस्य तथा पदाधिकारी रहने छैनन्’ भन्ने व्यवस्था गरेको छ ।

सोसाइटीद्वारा जारी अनुरोधमा विधानको यस व्यवस्थालाई आत्मसात् नगरी दोहोरो भूमिकामा रहेको पाइएमा मौजुदा विधानबमोजिम हुने उल्लेख छ । अनुरोधमा भनिएको छ, “पुनश्चः नेपाल रेडक्रसका कुनै पनि तहका समितिका पदाधिकारी र सदस्यहरू कुनै राजनीतिक दलको भ्रातृ सङ्गठनसमेत विभिन्न निकायका पदहरूमा रहेको थाहा भएमा तथ्यसहित जानकारी गराउनु हुन पनि सम्बन्धित सबैमा अनुरोध गर्दछौँ । ” नेरेसो विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा रेडक्रसका सात सिद्धान्त, मूल्य मान्यतामा आधारित एक तटस्थ र निष्पक्ष रूपमा काम गर्ने देशकै ठूलो मानवीय संस्था हो ।

नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्याहरू जटिल बनेको भनि बेला बखत विभिन्न सरोकारवालाहरूबाट टिप्पणी भएको अवस्था छ । साथै, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रि«य महासङ्घको वैधानिक निकायले प्रतिबन्ध लगाउने सम्मको नीति अख्तियारी गरेको कुरा विदितै रहेको अनुरोधमा उल्लेख छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।