उजुरी परेका दुई उम्मेदवारको उम्मेदवारी कायम राखेपछि पोउवा संघको निर्वाचनमा विवाद


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०८३ मा प्रकाशित




पोखरा, भदौ ९ ।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको नामावली प्रकाशन भएसँगै निर्वाचन प्रक्रियामा विवाद देखिएको छ। उम्मेदवारीविरुद्ध उजुरी परेका कार्यसमिति सदस्य पदका उम्मेदवार दिलीपकुमार श्रेष्ठ र रामेश्वर अधिकारीको उम्मेदवारी निर्वाचन समितिले कायम राखेपछि अन्य उम्मेदवारले आपत्ति जनाएका छन्।
निर्वाचन समितिको निर्णयअनुसार कार्यसमिति सदस्य पदका उम्मेदवार दिलीपकुमार श्रेष्ठविरुद्ध संघको अभिलेखमा देखिएको भनिएको बक्यौता रकमसम्बन्धी उजुरी परेको थियो। समितिले छानबिन गर्दा उक्त रकम उम्मेदवारी दर्ता गर्नुअघि नै २०८३ साउन १६ गते चुक्ता गरिसकेको देखिएको भन्दै उनको उम्मेदवारी यथावत् कायम गर्ने निर्णय गरेको छ।
त्यस्तै, दिलीपकुमार श्रेष्ठ र रामेश्वर अधिकारीविरुद्ध व्यक्तिगत लेनदेन तथा सहकारी बैंक कारोबारसँग सम्बन्धित विषयमा उजुरी परेको थियो। निर्वाचन समितिले व्यक्तिगत लेनदेन वा सहकारी तथा बैंकिङ कारोबारका विषयमा संघको विधान र निर्वाचन नियमावलीले रोक नलगाएको तथा प्रचलित कानुनअनुसार उनीहरू उम्मेदवार हुन अयोग्य हुने गरी कुनै तथ्य पुष्टि नभएको भन्दै दुवैको उम्मेदवारी यथावत् कायम गर्ने निर्णय गरेको छ।
तर निर्वाचन समितिले उजुरी परेका उम्मेदवारको नामसमेत अन्तिम उम्मेदवारको सूचीमा समावेश गरेपछि अन्य उम्मेदवारले भने त्यसप्रति असन्तुष्टि जनाएका छन्। निर्वाचन समितिले दबाबमा परेर नाम समावेश गरेको भन्दै निर्णय सच्याउन माग गरिएको छ ।
उजुरी दिने आठ जनाले नै उजुरी परेका दुई उम्मेदवारको विषयमा पुनः आवश्यक छानबिन गरी निर्णय सच्याउन माग गरेका छन् । निर्वाचन समितिले निर्णय नसच्याए निर्वाचन बहिष्कारदेखि आन्दोलनसम्मका कार्यक्रम घोषणा गर्नुपर्ने अवस्था आउने उनीहरुको चेतावनी छ ।
‘उजुरी परेका उम्मेदवारको नाम समावेश गर्ने निर्णय सच्याउनुपर्छ। अन्यथा निर्वाचन बहिष्कारदेखि आन्दोलनसम्मका कार्यक्रम अघि बढाउँछौँ,’ उजुरीकर्ताहरुले उक स्वरमा भने ।
उम्मेदवारीसम्बन्धी विवादसँगै संघको निर्वाचनको निष्पक्षता र निर्वाचन समितिको निर्णयमाथि नै प्रश्न उठेको उनीहरुको आरोप छ। उनीहरुले निर्वाचन समिति कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष ढंगले अघि बढ्नुपर्ने बताएका छन्।
निर्वाचन समितिले भने दिलीपकुमार श्रेष्ठको हकमा उम्मेदवारी दर्ताअघि नै बक्यौता चुक्ता भएको र श्रेष्ठ तथा अधिकारीको हकमा व्यक्तिगत लेनदेन तथा सहकारी बैंक कारोबारका कारण उम्मेदवार हुन अयोग्य हुने आधार पुष्टि नभएको निष्कर्ष निकालेको छ।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ। महाधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ। निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारको नामावलीलाई लिएर देखिएको विवादले संघको चुनावी माहोल थप तातेको छ।
यसैबीच, उपनाम राखी पाउँ भन्ने निवेदनका सम्बन्धमा समेत निर्वाचन समितिले निर्णय गरेको छ। समितिले भदौ ४ गते नै अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको र उम्मेदवारले मनोनयनपत्रसँग पेस गरेको नागरिकता प्रमाणपत्रमा उल्लेख भएको नाम नै आधिकारिक हुने भन्दै उपनाम थपघट नगरी अन्तिम मतदाता नामावलीअनुसार उम्मेदवारको नाम कायम गर्ने निर्णय गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।