सन्देश श्रेष्ठ
पोखरा, भदौ १०
नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ । कांग्रेस नेतृत्वको वर्तमान प्रदेश सरकारबाट एमाले बाहिरिएको हो । गण्डकी प्रदेशमा एमालेबाट प्रतिनिधित्व गरि सरकारमा गएका चार जना मन्त्रीहरुले आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सामुहिक राजिनामा पत्र बुझाए । पाण्डे नेतृत्वको वर्तमान सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहेका थिए ।
यसअघि मंगलबार बसेको प्रदेश संसदीय दलको बोर्ड बैठकले कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सो बैठकले पार्टीबाट पाण्डे नेतृत्वको सरकारमा गएका मन्त्रीहरुलाई राजिनामा दिन भनेको थियो । बोर्डको सो निर्णयलाई बुधबार विहान बसेको प्रदेश संसदीय दलको बैठकले सदर गरेको थियो ।
यसअघि अन्य प्रदेशमा एमाले–नेकपा गठबन्धन अनुसार सरकार बने पनि गण्डकीमा कांग्रेस नेतृत्वको सरकारमा एमाले बसिरहेपछि सत्तालोलुपको आरोप लाग्दै आएको थियो । त्यहि सन्दर्भमा मुख्यमन्त्री पाण्डेले एमालेले आफू नेतृत्वको सरकार नछाडेकोमा आश्चर्य व्यक्त गरेका थिए । उनले आफैले सरकार छाडेर नगए एमाले मन्त्रीहरुलाई बर्खास्त गर्नेबारे पनि आफूहरुले सोंचिरहेको बताएपछि एमाले झस्किएको थियो । मुख्यमन्त्रीको सो अभिव्यक्ति आएको भोलिपल्टै एमालेले सरकारबाट बाहिरिने निर्णय लिएपछि मन्त्रीहरुले राजिनामा दिएका हुन् ।
राजिनामा पत्र बुझाउँदै एमालेबाट सरकारको नेतृत्व गरेका गोविन्दबहादुर नेपालीले पार्टी र संसदीय दलको निर्णय अनुसार आफूहरुले राजिनामा दिएको बताए । सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा मुख्यमन्त्री पाण्डेलाई धन्यवाद दिदै उनले भने,‘यो हाम्रो कारणले सरकार छाडेका होईनौं, केन्द्रमा भएको समीकरण फेरवदलको असर यहाँ पनि देखिएको मात्र हो ।’
राजिनामा पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले सरकारमा रहेर सहकार्य गरेकोमा मन्त्रीहरुलाई धन्यवाद दिए । राजनीतिमा सहकार्य गर्ने र टुटन्े भइरहन्छ,उनले भने,‘पहिले सहकार्य भयो, अहिले सहकार्य टुटेको छ, फेरी भोलि सहकार्य हुन पनि सक्छ, त्यसैले अहिलेको परिस्थितिलाई लिएर अप्ठ्यारो नमान्नुहोला ।’
एमाले मन्त्रीहरुले छाडे पनि मुख्यमन्त्री पाण्डेले तत्काल विश्वासको मत लिन भने नपर्ने भएको छ । एमालेले पहिले पनि विश्वासको मत नदिएको तथा पहिले सरकार बनाउँदा साथ दिएका राप्रपा र माओवादीको चुनावचिह्नबाट निर्वाचित नयाशक्ति पार्टीका फडिन्द्र देवकोटाले समर्थन यथावत राखेकाले पाण्डेलाई विश्वासको मत लिनुपर्ने बाध्यता नरहेको हो ।
यद्वपी एमाले–नेकपा नेतृत्वमा सरकार गठनको प्रयास भने शुरु हुने नेताहरुले बताएका छन् । राप्रपालाई विश्वासमा लिएर एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वमा सरकार बनाउने प्रयासमा एमाले रहेको छ । तर गण्डकीमा संख्यात्मक हिसाबले त्यो सम्भावना निकै न्यून देखिन्छ । गण्डकीमा एमाले र नेकपा बिना नै वर्तमान सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारको बहुमत पुग्ने देखिन्छ ।
६० सदस्यीय प्रदेश सभामा राजिव गुरुङ उर्फ दीपक मनाङे निलम्वित रहेकाले हाल ५९ सदस्यीय रहेको छ । जसमा कांग्रेसको २७ सहित राप्रपाको दुई र तत्कालीन माओवादीको चुनावचिह्नबाट निर्वाचित नयाशक्ति पार्टीका सांसद फडिन्द्र देवकोटाको समर्थन यथावत रहेकाले पाण्डेको बहुमत यथावत छ भने अहिलेसम्म कसैले पनि समर्थन फिर्तासमेत नलिएकाले विश्वासको मत पनि लिनुपर्दैन ।
अधिकारी नेतृत्वमा सरकार बनाउन एमालेले राप्रपालाई फकाईरहेको छ । एमालेको २२ र नेकपाको सभामुखबाहेक ६ सदस्य भएकाले राप्रपाले समर्थन गरेमा बहुमत पुग्ने देखिन्छ । तर तत्कालीन खगराज अधिकारीलाई समर्थन नगरेको राप्रपा र नयाशक्तिका देवकोटाले तत्काल कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएर एमाले–नेकपाको सरकार बनाउन सहयोग नगर्ने कांग्रेसको दाबी छ । बरु आफू नेतृत्वको सरकारमा देवकोटा सामेल हुने मुख्यमन्त्री पाण्डेले दाबी गर्दै आएका छन् । पाण्डे नेतृत्वमा सरकार बनाउन तत्कालीन माओवादीको ह्वीप उलंघन गर्दै मत दिएका उनी सरकारमासमेत गएका थिए । तर जेनजी आन्दोलनमा भएको बालबालिकाको हत्या र वितण्डाप्रति असहमति जनाउँदै उनले पदबाट राजिनामा दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र नेपालले आयोजना गरेको रक्तदान कार्यक्रमबाट…





