दिल्लीका मुख्यमन्त्रीको ईच्छा, पशुपतिनाथको दर्शन


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०८३ मा प्रकाशित




भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन् ।

पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद सन्दीप राना नेतृत्वको समूहसँग भएको भेटका अवसरमा उनले आफू छिट्टै नेपाल आउने र भगवान पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्ने जानकारी गराएकी छन् । पशुपतिनाथका कारण नेपाल भारतबीच सदियौँदेखि धार्मिक, सांस्कृतिक सम्बन्ध प्रगाढ रहँदै आएको मुख्यमन्त्री गुप्ताले बताईन् ।

भेटका क्रममा दुवै देशको विकासमा युवाको सहकार्य, दुई देशबीचको आपसी सम्बन्ध विस्तारलगायत विषयमा कुराकानी भएको सांसद रानाले जानकारी दिए । भारतस्थित नेपाली कांग्रेस निकटको जन सम्पर्क समितिको कार्यक्रममा गएका बेला सांसद राना नेतृत्वको समूहले दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री गुप्तालाई भेटेको हो ।

सो समूहमा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी, कांग्रेस नेत्री सुनिता कुँवर, कांग्रेसका युवा नेताद्वय सुशान्त आचार्य र जीवन तिवारीलगायतका सहभागी थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।