सन्देश श्रेष्ठ
पोखरा, भदौ २
गण्डकी प्रदेश खेलकुद पदक वितरणमा गम्भीर त्रुटी र चरम लापरवाही देखिएको निश्कर्षसहित छानविन समितिले प्रतिवेदन बुझाएको छ । गण्डकी खेलकुद परिषद (गखेप)ले गरेको पदक वितरण विवादमा परेपछि बनाइएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलको संयोजकत्वमा रहेको पदक वितरण छानविन समितिले पदक वितरणमा गम्भीर त्रुटी भएको निश्कर्षसहितको प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन मन्त्रीलाई सोमबार अपराह्न बुझाइसकेको छ ।
पदक सिफारिस समितिको सिफारिस (निर्णय) बिना नै पदक वितरण भएको देखिनुका साथै पदक वितरणमा चरम लापरवाही र मिलेमतो भएको आरोप लाग्दै आएको छ । गखेप सदस्य सचिव श्रीधर शर्माले पदक सिफारिस समितिको निर्णय बिना नै सेटिङमा आफू अनुकुलको पात्रलाई पदक वितरण गरेको खुलासा भएको थियो । छानविन समितिको प्रतिवेदनले त्यसलाई गम्भीर लापरवाही र त्रुटी भनेको स्रोतले बताएको छ । गखेपको पदक गखेपकै सल्लाहकार तथा संघसंस्था समन्वय उपसमिति संयोजक केशव पाठकलाई प्रदान गर्नू गलत भएको समितिको निश्कर्ष रहेको मन्त्रालय स्रोतले जानकारी दियो । समितिले आफै पदक सिफारिस समितिको आमन्त्रित सदस्यमा बसेर आफ्नै नाम सिफारिस गर्नू कार्यविधि विपरित रहेको भन्दै यसलाई चरम लापरवाहीको संज्ञा दिएको छ । ‘त्यसमा पनि गखेपको बोर्ड सदस्य तथा निमित्त सदस्य सचिवसमेत बनेको कार्यकालको पदक लिनु र दिनु नैतिक रुपमासमेत नमिल्ने समितिको निश्कर्ष छ’–स्रोत भन्छ ।
अर्कोतर्फ पदक सिफारिस समितिका अर्का आमन्त्रित सदस्य द्वय हरि पराजुली र केशव पाठकले आफू आबद्ध रहेको संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चलाई तथा चित्रबहादुर थापा र केशव पाठकले आफू आबद्ध संस्था नेपाल ह्याण्डबल संघलाई पुरस्कार दिलाउनु पनि कार्यविधि विपरित रहेको छानविन समितिको निश्कर्ष छ । त्यसबाहेक पदक सिफारिस समितिले सिफारिस नै नगरी पदक वितरण गर्नु गम्भीर त्रुटी भएको निश्कर्षमा भनिएको छ । त्यस्तै, देशभर कफ्र्यु र आगजनी चलिरहँदा २५ गते बैठक बसेको भन्ने गखेपको दाबी फर्जी देखिएको छ । कुनैबेला लेखिएको माईन्यूट सो मिति राखेर बनाइएको प्रतिवेदनमा उल्लेख रहेको स्रोत बताउँछ ।
छानविन समितिले ८९ पेजको प्रतिवेदन बुझाएको छ । जुन प्रतिवेदन वर्तमान कानून, पदक वितरणको कार्यविधि, प्रक्रिया सबै हेरेर त्यसमा भएको राम्रो पक्ष र नराम्रो पक्ष मसिनो गरेर केलाएर बनाएको छानविन समितिका संयोजक तथा समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायाण पौडेलले जानकारी दिए । पदक वितरणमा गरिएको कार्य र कार्यविधि बीचको ग्याप खोलेका छौं,उनले भने,‘ नोटिसेबल कमीकमजोरी, कानूनको विधि, प्रक्रिया मिले,नमिलेको आधारसहित स्पष्ट औंल्याएका छौं ।’
प्रतिवेदनमा आधाजति छानविनका प्रक्रिया, विधि र त्रुटीबारे रहेको र बाँकी पेजमा सरोकारवालाहरुको वयान र अनुसूची रहेको बुझिएको छ । यसअघिका उत्कृष्ट प्रतिवेदनहरुको अध्ययन गरेर त्यसका न्यूनतम मूल्य, मान्यतामा रहेर प्रतिवेदन बनाएको संयोजक पौडेलले दाबी गरे । छानविनको बेष्ट प्राक्टिस ईमानदारीका साथ मेहनत गरेर बनाएका छौं,उनले भने,‘यथार्थ, वस्तुगत र वैज्ञानिक प्रतिवेदन बनाएका छौं ।’
छानविन समितिले प्रतिवेदनमा पदक वितरणमा भएको गल्ती, कमजोरी औंल्याउँदै निश्कर्ष निकालेको छ । जसमा सरकारलाई निर्णय गर्न र नगर्नका लागि कुनैपनि दुविधा नहुनेगरी स्पष्ट रुपमा भनिएको संयोजक पौडेलले बताए । तर प्रतिवेदनमा भएका सबै कुरा आफूले बताउन नमिल्ने उनले बताए ।
मन्त्री गुरुङले प्रतिवेदन अध्ययन गरिरहेको उनको सचिवालय स्रोतले जानकारी दियो । प्रतिवेदन अध्ययन भइरहेको छ,स्रोत भन्छ,‘मुख्यमन्त्रीसँगको परामर्शपछि आवश्यक निर्णय हुन्छ ।’ सो स्रोतका अनुसार प्रतिवेदनमा पदक वितरणमा चरम लापरवाही र मिलेमतो भएकोबारे मन्त्री गुरुङ पहिलेदेखि जानकार थिईन् । त्यसैले आउने निश्कर्षबारे उनी स्पष्ट नै थिईन्,स्रोत भन्छ,‘अब कारवाही प्रक्रिया अगाडि बढ्छ तर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सुझावका आधारमा ।’
सेटिङमा पदक वितरण गर्ने गखेप सदस्य सचिव शर्मा अहिले आफूलाई बचाईदिन भन्दै मुख्यमन्त्री पाण्डे गुहार्न पुगेकोसमेत स्रोतको दाबी छ । उनै मुख्यमन्त्री पाण्डेले हस्तक्षेप गरेर बचाए भने बेग्लै,उक्त स्रोत भन्छ,‘नत्र सदस्य सचिव शर्मालाई मन्त्री गुरुङ कारवाही गर्ने निश्कर्षमा पुगेकी छन् ।’ यसबारे बुझ्न मन्त्री गुरुङलाई पटक÷पटक सम्पर्क गर्दा पनि फोन उठाईनन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २ भदौ । कास्कीको रुपा गाउँपालिका–२ माझकोटमा दोस्रो खेम गुरुङ स्मृति…





