भोटेकोशीमा पानीको सतह फेरि बढ्यो, सतर्कता अपनाउन आग्रह


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०८३ मा प्रकाशित




भोटेकोशीमा जलसतह पुनःबढेको छ । लेदोसहित पानीको सतह बढेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले आज सूचना जारी गर्दै भोटेकोशीमा फेरि बाढी आउनसक्ने जनाउँदै भोटेकोशी एवं त्रिशूलीमा उद्धार एवं राहतमा परिचालन भएकालाई सतर्कता अपनाउन आग्रह गरेको हो । प्राधिकरणका प्रवक्ता शान्ति महतले जोखिम क्षेत्रमा रहेका सबैलाई सर्तकता अपनाउन र तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेकी छन् ।त्रिशूली नदीतटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा बुधबार नौ वटा र बिहीबार १९ वटा गरी २८ शव फेला परेका छन् ।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार गर्ने क्रममा उक्त शव भेटिएको प्रहरीले जनाएको छ । फेला परेका २३ वटा शव गण्डकी अस्पताल र पाँच वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

फेला परेका शवको पहिचानका लागि आवश्यक कानुनी तथा प्रक्रियागत काम अघि बढाइएको उनले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।